काठमाडौं । एमाले केन्द्रीय कमिटीको आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्री केपी ओलीले शनिबार मध्यराति ११ बजेपछि आजका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेका हुन् ।
ओलीले आज बिहान साढे १० बजेका बालुवाटारमा बस्ने गरी महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको एक केन्द्रीय कमिटी सदस्यले बताए ।
नेता माधवकुमार नेपाल पक्षका संघ र प्रदेशका २७ सांसदहरूलाई ओलीले स्पष्टीकरण सोधेका थिए । त्यसको जवाफ सांसदहरूले गत बिहीवार बुझाएका थिए । सोही परिवेशमा नेपाल पक्षका नेताहरूको जवाफलाई लिएर बैठक बोलाइएको जनाइएको छ । ‘बैठकमा नेपाल पक्षका सांसदहरूको जवाफ र सम्भवतः कारवाहीबारे छलफल केन्द्रित हुनेछ,’ ओली पक्षका एक नेताले भने ।
स्रोतका अनुसार आजै ओलीले माधव पक्षका नेतालाई स्पष्टीकरण चित्तबुझ्दो नभएको, पार्टी विभाजनमा लागेको आरोप लगाउँदै कारबाही गर्ने तयारी गरेका छन् । गत बुधबार र बिहीबारको ओलीले माधव नेपालसँग गरेको भेटवार्ता नाटक मात्रै भएको बताइएको छ । ‘मैले त मिलाउने कोसिस गरेकै हुँ, तर उहाँहरू मान्नु भएन’ भन्ने देखाउन ओलीले माधव नेपालसँग वार्ताको मञ्चन गरेको बुझिएको छ ।




