छोरी जन्मिदाँ ओठ लेप्राइन्छ, खासै महत्व दिइँदैन, जति छोरा जन्मिदा घरमा उत्सव मनाइन्छ । कतिपयले त गर्भमा छोरी छ भन्ने थाहा पाए भने पतनै गराउँछन् ।
तर यहाँ गर्व र खुशीका साथ बीबीसीसँग कुरा गर्दैछन् भारत राजस्थानका किसान मदन प्रजापत । उनको यो खुशी परिवारमा ३५ वर्षपछि छोरीको जन्म भएकाले हो । उनको यो खुसीलाई उत्सवको रुपमा मनाइयो । उनको यो खुशी पे्ररणा बनेर राजस्थानमा मात्र सीमित रहेन सारा विश्वमा चर्चाको विषय बनेको छ ।

राजस्थानको नागौर जिल्लाको निम्बडी चाँदवता गाउँका ५५ वर्षीया किसान मदन प्रजापतको परिवारमा ३५ वर्षपछि नातिनी जन्मेकी हुन् । नातिनीभन्दा अगाडि उनको एक छोरी र छोरा थिए । ठूलो छोरी ३५ वर्षकी भइन् र २१ वर्षका छोरा हनुमान प्रजापतको गत वर्ष विवाह भएको थियो । बुहारी चुकीदेवीले गत अप्रिल २ मा छोरी जन्माएकी थिइन् ।
परिवारले छोरीको नाम सिद्धि राखेको छ । नागौर जिल्ला अस्पतालमा जन्मेकी छोरीलाई परम्पराअनुसार चुकी देवीको माइतीघर हरसोल गाउँमा पु¥याइयो । त्यहीबाट मदन प्रजापतले लाग्यो उनकी नातिनी र झन्डै साढे तीन दशकपछि परिवारमा जन्मेकी छोरीको गृहप्रवेशलाई उत्सवको रुपमा मनाउने निर्णय गरे ।
यसको तयारी एक साताअघिबाट सुरु गरियो । किसान मदन प्रजापत यो अवसरलाई सम्झनालायक बनाउने योजना बनाए । नातिनीलाई बुहारीको माइतीबाट आफ्नो घर निम्बडी हेलिकोप्टरबाट ल्याइयो ।

हेलिकोप्टरका लागि उनले विभिन्न प्रयास गरे । अनुमतिका लागि उनी जिल्ला कलेक्टरकहाँ पुगे । नागौर जिल्लाका कलेक्टर डा. जीतेन्द्रकुमार सोनीले भने, ‘मदन प्रजापतले हेलिकोप्टर उडाउने अनुमति मागे । हामीले उनलाई कोभिड गाइलाइन्स पालना गर्दै हेलिकोप्टर उडाउने अनुमति दिएका हौं ।’
रामनवमीको दिन बच्चीलाई ननिहाल हरसोलबाट निम्बडी चाँदावतको यात्रा होलिकोप्टरमा ल्याइयो । यात्रा जम्मा १० मिनेटको थियो । होलिकोप्टरबाट घरसम्म पुग्न कार्पेट बिच्याइएको थियो । गाउँ र परिवारजन बच्चीको प्रतिक्षामा बसेका थिए ।
बच्ची र बच्चीकी आमालाई फुलमालाले स्वागत गरियो । गृहप्रवेश रितिरिवाजअनुसार गरियो । महिलाहरुले परम्परागत गीतले स्वागत गरे । कार्यक्रममा सहभागी सबैलाई छोरा र छोरी बराबरी हुन् भन्ने पाठ सिक्न बाध्य बनायो ।
– बीबीसीबाट




