विचार

देवी बुवा ! श्रद्धाञ्जली

नेपालको प्रजातान्त्रिक आन्दोलनमा जेलनेल, प्रवास, यातना र संघर्षको लामो अनुभवले खारिएका व्यक्तिगत रुपमा मेरो अभिभावक नेपाली कांग्रेसका नेता देवीप्रसाद न्यौपानेको अकल्पनीय दुर्घटनामा परी २०७८ वैशाख ९ गते निधन हुन गयो । दुर्घटना हुनुभन्दा करिब एकघन्टा अगाडि चालिस मिनेट देशको समसामयिक राजनीति, नेपाली कांगे्रसको भूमिका तथा राजनीतिमा मौलाएको विकृति र विसंगतिका सम्बन्धमा कुराकानी भएको थियो । कुराकानीको ताजा प्रभाव रहेकै अवस्थामा आकस्मिक मृत्युको खबर सुन्नुपर्दा विश्वास गर्न जति गाह्रो भएको थियो, त्यत्ति नै मर्माहत र विक्षिप्त बनायो ।

हाम्रो पारिवारिक सम्बन्ध र मेरो व्यक्तिगत निकटाले गर्दा होला, मैले उहाँको निधनलाई स्वीकार गर्न सकिरहेको छैन । दुई कक्षादेखि पाँच कक्षासम्म अध्ययन गर्दा औपचारिक गुरु, त्यसपछि मृत्यु हुनु एक घन्टा अगाडिसम्मका अभिभावक, पथप्रदर्शक, पे्ररणाका श्रोत र नेपालको राजनीतिक इतिहास तथा नेपाली कांगे्रसको नेतृत्वमा भएकन तमाम आन्दोलन, संघर्ष र नेताहरुको नेतृत्व क्षमता जीवनशैली, संस्कार र संस्कृतिका बारेमा खुल्ला छलफल गर्न सक्ने, जानकारी दिन सक्ने जागीरलो व्यक्तित्व हुनुहुन्थ्यो स्वर्गीय देवी न्यौपाने ।

दोलखाको जफेमा सामान्य परिवारमा जन्मिएर नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने साहस देखाउनु न्यौपानेको साधारण योगदान थिएन । व्यक्तिगत र पारिवारिक सुखसुविधाभन्दा देशको परिवर्तन र रुपान्तरण महत्वपूर्ण विषय हो भन्ने महसुस गरी सम्पूर्ण रुपले आन्दोलनमा होमिएका न्यौपानले पटक पटक जेल जीवन व्यतित गर्नु भएको छ, यातना सहनु भएको छ, प्रवासमा बीपी कोइरालासँग बस्नु भएको छ । दोलखा जिल्लाको पार्टी नेतृत्व सम्हाली केन्द्रीय राजनीतिमा पनि असल, इमान्दार, साधारण र सरल नेताको परिचय बनाउनुभएको थियो ।

राजनीतिक विकृत भएको र अन्याय गर्नु हुँदैन भन्ने मान्यता र दृष्टिकोण स्पष्टसँग अभिव्यक्त गर्न सक्ने थोरै व्यक्तिहरु मध्येमा देवी न्यौपाने पर्नुहुन्थ्यो । फरक पहिचान बनाउनु भएका, असल र इमान्दार व्यक्तिको रुपमा उहाँलाई सबैले सम्मान गरेको मैले पाएको छु । अहिले कांगे्रसको नेतृत्वमा रहेका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि प्रदीप गिरिलगायतका नेताहरुसम्म उहाँको समधुर सम्बन्ध थियो । जेल र प्रवासमा सँगै बस्दाका अधिकांश नेताहरु पार्टी र सरकारको नेतृत्वमा हुँदा समेत देवी न्यौपानेको यथोचित मूल्यांकन नभएकोमा कार्यकर्ता पंक्ति नेतृत्वसँग असहमति राखेर भूमिका प्रदान गर्नुपर्छ भन्ने दबाब दिइरहेकै हुन्थ्यो ।

दोलखा कांग्रेसका पूर्वसभापति स्वर्गीय देवी न्यौपाने ।

हामी केही साथीहरु २०५१ सालदेखिकै निर्वाचनमा देवी न्यौपानेलाई मौका दिनुपर्छ भनी लागिपरेकै थियौं । पार्टी नेतृत्वसँग पटक पटक बसेर दबाब सिर्जना गरेका पनि हौं । धेरै निकट भएर काम गरेको कारण हाम्रो आन्दोलन पनि भएको थियो । बलेको आगो ताप्ने प्रवृत्ति र सत्तासँगैको निकटतामा आधारित नाफा घाटाको स्वार्थी राजनीतिमा लागेकाहरु असहमत हुन्थे । तर हामी निरन्तर परिवर्तनको लागि हौमिएका नेता तथा कार्यकर्ताको मूल्यांकन भएन भने लोकतान्त्रिक पद्धतिको भविष्य रहँदैन । यसलाई स्वार्थीहरुले स्वार्थ पूरा गर्ने साधन मात्र बनाउँछन भन्ने दबाब कुनै न कुनै किसिमले दिइरहेका हुन्थेउ ।

त्यही सन्दर्भमा ओझेलमा पारिएका पुराना र इमान्दार व्यक्तिहरुलाई पार्टीले उचित भूमिका प्रदान गर्नुपर्छ भनने अभियानमा देवी न्यौपानेलाई अग्रपंक्तिमा राखेर राजनीति विकृति र विसंगतिको विरुद्ध लागिरहेका थियौं । हाम्रो अभियानले सार्थकता पाउने सम्भावना कमजोर हुँदै गएको छ । राजनीति क्रमशः अराजनीतिक मान्छेको कब्जामा जाँदैछ । जिम्मेवारी बहन गर्दा र प्रदान गर्दा क्षमता, योग्यता, इमान्दारिता वा निरन्तरताभन्दा तत्कालको नाफा घाटा र लेनदेनमा आधारित भएको छ । खुलम खुला लेनदेन र खरिद बिक्री हुने गरेको अवस्थाप्रति स्वर्गीय न्यौपाने चिन्तित हुनुहुन्थ्यो । वास्तवमा न्यौपाने र उहाँजस्ता तमाम व्यक्तिहरु जसले आफ्नो सम्पूर्ण समय राजनीतिमा समर्पित गर्नुभयो, उहाँहरुको परिकल्पनाको शासन व्यवस्था यस्तो होइन । साँच्चै रुपान्तरण गर्छौ भन्ने अठोट र संकल्पका साथ न्यौपानेहरु आन्दोलनमा समर्पित हुनुभएको थियो ।

आदर्श पुरुषको परिचय बनाउनु भएका स्वर्गीय भीमबहादुर तामाङ र देवी न्यौपानेको नेतृत्वमा दोखला कांगे्रस अगाडि बढ्दा साच्चै राजनीति सकरात्मक दिशातर्फ नै जान्छ भन्ने सोच धेरेमा थियो । पञ्चायतको कठोर कालरात्रिमा धेरैले तामाङ र न्यौपानेलाई साथ र सहयोग गरेका थिए । हामीजस्ता मानिसहरु त्यही मार्गचित्र अवलम्बन गर्दै राजनीतिमा क्रियाशील भयौं । आफ्नो लक्ष्य र उद्देश्यका खारित खगाडि बढ्ने प्रण र प्रयत्न त भयो तर तलदेखि माथिसम्म फैलिएको र गाँजिएको विकृतिले निष्ठा, त्याग र इमान्दारितालाई किनाराकृत ग¥यो । त्यसको मारमा तामाङ र न्यौपानेहरु पर्नुप-यो । नयाँ पुस्ताले सरसर्ती हेर्दा देवी न्यौपानेले यत्रो त्याग र योगदान गर्दा के प्राप्त गर्नुभयो ? भन्ने प्रश्न गर्न सक्छ । त्यसको जवाफ दिने कसरी ? अहं प्रश्न हाम्रो सामु छ ।

केही प्राप्तिका लागि गरिएको थिएन होला, तर प्राप्ति कस्ता व्यक्ति वा समूहले गरेका छन् ? आफूले गरेको प्राप्तिको पृष्ठभूमि त्याग र संघर्ष उपयुक्त हुने तर अर्कोको मूल्यांकनको आधार चाहिँ त्याग र संघर्ष नहुने जस्तो विरोधाभाषपूर्ण व्यवहार नेतृत्वबाट भएको छ । अहिलेको समग्र नेतृत्वले इमान्दार र निष्ठावान व्यक्तिहरुलाई उचित सम्मान र व्यवहार गर्न चाहेन भन्ने आम बुझाइ छ । कांगे्रस नेता देवी न्यौपानेप्रति पनि कांगे्रस नेतृत्वले न्याय नगरेको, गर्न नचाहेको यथार्थतालाई अन्यथा भन्न सकिँदैन । आम मानिसको राजनीतिक नेतृत्वप्रतिको चरम असुन्तष्टि यही कारणले देखिएको सत्यतालाई नजरअन्दाज गर्न पनि हुँदैन । जनताको आस्था र विश्वास गुम्दै जानुमा इमान्दारिता र निष्ठाको उचित मूल्इांकन नहुनु हो भन्ने यथार्थता कांगे्रस नेतृत्वले महसुस गरेन भने पुराना पुस्ताको मोहभंग हुँदै जाने र नयाँ पुस्ता आकर्षित नहुने क्रम तेज गतिका साथ अगाढि बढ्ने छ ।

व्यक्तिगत रुपमा मैले आफ्नो भरपर्दो अभिभावक गुमाए । राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा छलफल गर्ने एक असल र सरल राजनीतिज्ञको अभाव मलाई खड्किरहने छ । त्यसको क्षतिपूर्ति मैले केहीकतैबाट गराउन सक्दिनँ । केटाकेटीमा स्वर्गीय न्यौपानेले सुमसुम्याएको मेरो कपाल अहिले धेरै झरिसकेको छ । दुई कक्षामा पढ्दा नै सिकाएको चेस खेल खेल्न छोडिसकेको छु । इतिहास र त्यागको प्रसँग कोट्याएर छलफल चलाउँदा चाहने सरल व्यक्तित्वको अनुहार आँखा अगाडि छैन ।

एउटा सामान्य व्यक्तिले पनि चेतना र संकल्पका साथ अगाडि बढ्दा समाजमा परिवर्तन हुनसक्छ भन्ने सन्देश दिने जाँगर मैले धेरै कम मानिसमा पाएँ । तर न्यौपाने ७२ वर्षको उमेरमा पनि उत्साह, उमंग र जाँगरका साथ पहाडको उकाली ओरोली भन्ञ्ज्याङ र चौतारिमा सहभागी हुनुहुन्थ्यो । म कुनै न कुनै कुरा सिकिरहन्थे । अब त्यो अवसर मलाई प्राप्त हुने छैन । विश्वास नहुँदा नहुँदै स्वीकार गर्न मनले नमान्दा नमान्दै मेरो मेरो श्रीमति र छोराछोरी अनि सिंगो परिवारको आदर सम्मान र सद्भावसहित स्वर्गीय देवी बुवाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँको आत्माले शान्ति पाओस् ।

आदरणीय दिदी, मेरा प्यारा भान्जाभान्जीहरु तथा परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै अकल्पनीय, अनपेक्षित एवम् आकष्मिक बज्रपात सहन सक्ने क्षमता प्राप्त होस भनी ईश्वरसँग प्रार्थना गर्दछु । म निरन्तर इमान्दारिता र सरलताको पथमा लाग्ने कोसिस गर्नेछु । हाम्रो सम्बनध, आत्मियता र निकटताका कारण मृत्युजस्तो यथार्थता र सत्यतालाई स्वीकार गर्न नसक्ने कमजोरी र पीडाबोध, स्वभाविक होला भन्ने महसुस गर्दै देवी बुवा, संधैंसँगै रहनु हुन्छ भन्ने आत्मबोध गर्दै पुनः हार्दिक श्रद्धा व्यक्त गर्दछु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *