खुसी हुनेवाला साइन बोर्ड फेर्न हतारिएछन्
बेखुसीजति निरासा बोकेर घर फर्किएका छन्
फर्किन नमिल्ने पल्टाउँदै पासा शरणमा खर्किएका छन्
चर्काउन हुनेजति थर्काउन मिलेजति
अझै थप चर्काइरहेछन्, थर्काइरहेछन्
एकातिर ताली छ अर्कोतिर गाली
कोही खपिरहेछन् कसैको हाली मुहाली
कोही थापिरहेछन् जाल कोही बुनिरहेछन् जाली
चर्काचर्की बढेका छन् कतै दोहोरी कतै जुहारी
लाग्छ, दुरुस्तै कटाक्ष व्यहोरिरहेका सासू – बुहारी
चोथाले–मुखाले दन्तबजानका धनुर्धारी
कोही थाप्तैछ बल्छी कोही फर्काउदैछ दुआली
कसैका चर्का नारा छन् कसैका खस्रा बोली
कोही रमेका छन् तान्दानमा बसेर
कोही चढेका छन् डोला डोली कसेर
रमिते कोही बनिरहेछन् फुटाएर टोली
मगन्ते हुँदैछन् कोही उचालेर झोली
खकारेर विगतलाई नकारेर भोलि
लाग्छ, यहाँ उधुम चलेको छ अहिले
राजनीति भन्दा नितान्त स्वार्थ
उखुम बढेको छ अहिले
भनाभन, टोकाटोक तर हात हाल्न बाँकी
बेरोकटोक भाँडभैलो, हारालुछ र आपसी कोलाहल ।
********************
मादी, संखुवासभा
हालः लोकन्थली, भक्तपुर




