राजनीति

वामदेवसँग पनि ओली निरास, बालुवाटारको डिनर काम लागेन

काठमाडौं । आफूले गरेका हरेक काम र निर्णय सही छ भनेर देखाउन प्रधानमन्त्री केपी ओलीले विभिन्न राजनीतिक स्टेप अघि चाल्दै आएका छन् । तर, ती सबै स्टेप एकपछि अर्को असफल बनेका छन् ।

पार्टीभित्रको किचलो अघि बढ्दै जाँदा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई बुधबार र बिहीबार दुई दिन होटल मेरियटमा भेटवार्ता गरे । तर, ती दुवै भेटवार्ता निष्कर्षमा पुगेनन् । बरु थप तिक्ततामा परिणत भएको बुझिएको छ ।

बिहीबार राति नै ओलीले नेता वामदेव गौतमलाई बालुवाटारमा डिनरका लागि बोलाए । गौतमले प्रधानमन्त्री ओली, एमाले संसदीय दलकन प्रमुख सचेतक विशाल भट्टराई र कानुनमन्त्री लीलानाथ श्रेष्ठसँग बसेर डिनर खाए ।

ओलीले आफूलाई फकाउन डिनरमा बोलाएको वामदेवले नबुझेका होइनन् । बालुवाटारको तस्बिर बाहिर आएलगत्तै ओलीका प्रशंसकले वामदेव र ओली अब सँगै भनेर प्रचार गरे । तर, वामदेव भैंसेपाटी पुग्दा नपुग्दै ओलीको प्रयासमा पानी फेरेको छ ।

एमाले राष्ट्रिय अभियानका संयोजकसमेत रहेका वामदेवले आफू प्रधानमन्त्री ओलीको पक्षमा आउन नसक्ने बताएका छन् ।
ओलीले गौतमलाई पार्टी काममा फर्किन अनुरोध गरेको र उनले प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक निर्णय फिर्ता लिन अनुरोध गरेको गौतमले आफ्नो प्रेस संयोजक विश्वमणि सुवेदीमार्फत बताएका छन् ।

भेटमा ओलीले निर्णयहरु फिर्ता नहुने बताएसँगै गौतमले पनि त्यसो हुँदा आफू ओलीसँग आउन नसक्ने जवाफ फर्काएका उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *