काठमाडौँ । निर्वाचन आयोगले गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि जेठमा निर्वाचन गर्न प्रस्ताव गरेको छ ।
संघीय संसद् सचिवालयले राष्ट्रिय सभामा एक पद रिक्त भएको जानकारी गराएपछि आयोगले निर्वाचनको मिति तोक्ने प्रक्रियाका लागि सोमबार गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।
राष्ट्रिय सभा निर्वाचन ऐनमा रिक्त पदमा ३५ दिनभित्र निर्वाचन भइसक्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार आयोगले निर्वाचनको मिति तोक्न पत्राचार गरेको हो । जेठ ७ मा पद रिक्त भएको ३५ दिनको अवधि पुग्दै छ ।
वाग्मती प्रदेशबाट निर्वाचित राष्ट्रिय सभा सदस्य बादललाई माओवादी केन्द्रले आफ्नो दलबाट हटाएपछि उनको पद रिक्त भएपछि सो स्थानमा वाग्मती प्रदेशभित्रैबाट पदपूर्ति गर्नुपर्ने भएको हो ।
त्यसका लागि वाग्मती प्रदेशको प्रदेश सभाका एक सय १० सदस्य र स्थानीय तहका नगर प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरी तीन सय ३८ जनाले मतदान गर्नेछन् ।
बादल माओवादी छाडेर एमालेमा प्रवेश गरेका हुन् । अब उनले एमालेबाट निर्वाचन लड्ने छन् । विपक्षी पार्टी गठबन्धन बनाएर गए पनि प्रदेशमा एमाले एकल बहुमतमा छ । यदि एमालेमा देखिएको किचलो निर्वाचनमा देखिएमा मात्र बादल पराजित हुन सक्नेछन् ।




