नयाँ शिरामा शुभ कामना यो
सास्ती हराऊन् शुभ वन्दना यो !
विरक्तिका दुर्दिन भै नआऊन्
जुनी निरोगी दिन हर्ष छाऊन् ।१।
मभित्र ऊर्जा भरियून् सधंै नै
अज्ञानता फालिदिऊन् सधँै नै ।
टुसा पलाऊन् नव आँकुरामा
हाँसून् खुसी पल्लव टाकुरामा ।२।
सुविज्ञ ज्ञाता शिर भव्यका हून्
आलोक आलोकित नव्यता हून् !
आदर्श मान्छे दिलमा पसून् कि ?
प्रणम्य प्रातःस्मरणीय हून् ती ।२।
वसुन्धरा धैर्य बनोस् उज्यालो
जालन्धरी त्राहि हिंडोस् अँध्यारो !
विक्षिप्त अश्लील थियो हिजै त्यो
फर्की नआओस् दिन फेरि कालो ।४।
समृद्घशाली दिन ढल्कियून् ती
उदारताका दिल फक्रियून् ती ।
बोकेर जाऊन् फुट तिक्त बोली
फर्केर आऊन् मृदु कण्ठ खोली ।५।
सम्पन्नता बोक धरा उघारी
विपन्नता फ्याँक सबै बढारी ।
नौलाख माया भर विश्वमा नै
नवीनताको शुभकामना यो ।६।
* * *
मादी, संखुवासभा
हालः लोकन्थली, भक्तपुर




