काठमाडौं । केही दिनयता नेपालगन्जमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । भारतबाट आउने मानिसका कारण नेपालगन्जमा संक्रमण दर तीव्र बढेको हो ।
भेरी अञ्चल अस्पतालका अनुसार संक्रमण दर तीव्र फैलिएको छ । गत २४ घन्टामा १८३ वटा नमुना परिक्षण गरिएकोमा १२७ जनामा संक्रमण भेटिएको छ, जसअनुसार पोजेटिभ दर ६९.४ प्रतिशत हुन आउँछ ।
एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत एक वर्षमा यो पहिलोपटक हो । यसले कोभिड संक्रमण समुदायस्तरमा व्यापक रुपमा फैलिसकेको इंगित गर्छ ।
अस्पतालले आफ्नो श्रोत साधनले भ्याएसम्म बिरामीको उपचारमा प्रतिबद्ध भएर लागेको जनाएको छ । तर यहि क्रममा संक्रमण फैलिने हो र गहन खालका बिरामीहरूको संख्या बढ्ने हो भने बिरामीको चाप थेग्न मुश्किल हुने उसको भनाइ छ ।
संक्रमणलाई थप फैलिन नदिन सरकारले अनुरोध गरेबमोजिमका सुरक्षाका मापदण्डहरूको पूर्ण पालना गर्न अस्पतालले आग्रह गरेको छ ।
भेरी अस्पतालमा अहिले कोरोनाको उपचार गराउने ४९ जना विरामीको अवस्था गम्भीर रहेको चिकित्सकहरूले जनाएका छन् ।




