काठमाडौं । छिमेकी भारतमा कोरोनाभाइरस संक्रमणको स्थिति तीव्र फैलिरहेको छ । भारतमा संक्रमण विस्तार हुँदा नेपालमा त्यसको असर परेको छ । भारतबाट खुला रूपमा आउने नेपाली र भारतीय नागरिकका कारण युके भेरियन्ट नेपालमा पनि प्रवेश गरेको छ ।
२४ घण्टामा भारतमा दुई लाख १६ हजार ६४२ जना संक्रमित भएका छन् । पछिल्लो समय संक्रमण शुरुवात भएयता एकै दिन यति धेरै संक्रमित भेटिएको यो पहिलो अवसर हो ।
एकदिनमा भारतमा एक लाख १७ हजार ८२५ जना निको भएका छन् । एक हजार १८२ जनाको मृत्यु भएको छ ।
भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख कटेको छ । १५ लाख ६३ हजार ५८८ संक्रमितको उपचार भइरहेको छ । भारत कोरोना संक्रमणको हिसाबमा अमेरिकापछि दोस्रो स्थानमा परेको छ ।
विश्वका शीर्ष २० संक्रमित सहरको सूचीमा भारतका १५ सहर सामेल छन् । पुणे सहर यो सूचीको शीर्ष स्थानमा रहेको छ भने मुम्बई दोस्रो स्थानमा छ । देशका करीब १२० जिल्लामा शैय्या, अक्सिजन, भेन्टिलेटरजस्ता जरुरी सुविधाको संकट देखा परेको छ ।




