राजनीति

सभापति देउवाद्वारा नयाँ वर्षको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन् । मंगलबार जारी वक्तव्यमा भनेका छन– ‘नयाँ वर्ष २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

‘२०७७ को वर्ष सम्पूर्ण विश्व नै प्राणघातक कोरोना भाइरसबाट आक्रान्त रह्यो । नेपाल पनि यसबाट प्रभावित हुन पुग्यो । कैयौं नेपाली दाजुभाइले स्वदेश र विदेशमा महामारीका कारण जीवन गुमाउनुका साथै ठूलो संख्यामा नागरिक प्रताडित हुन प¥यो । कोभिड—१९ ले आम नागरिकको दैनिक जीवनमा ठूलो असर पु¥याउनुका साथै उद्योग, व्यापार, विद्यालय लगायतका धेरै क्षेत्रहरु नराम्रोसँग प्रभावित भयो । नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षी दलका रुपमा चुनौतीलाई सामना गर्न सरकारलाई सम्पूर्ण रुपले सहयोग ग¥यो । सरकार कोभिड–१९ को रोकथाम र नियन्त्रणमा असफल र नागरिकका प्रति सर्वथा उदासिन रह्यो । यसका वावजुद पनि नेपाली जनताले लकडाउनको पालना गर्दै भौतिक दुरी कायम गरेर उच्च सतर्कता अपनाएर अत्यन्त संयम र एकताका साथ कोभिड विरुद्ध लडिरहे ।

मुलुकमा फेरि पनि कोभिड—१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी अनिवार्य रुपमा मास्क, सेनिटाइजरको प्रयोग गर्नुका साथै भौतिक दुरी कायम गर्ने, भीडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेर लगायतका कार्यक्रम नगरी सुरक्षित रुपमा नयाँ वर्ष मनाउन म सबैलाई आग्रह गर्दछु ।

आम नेपाली नागरिकको सात दशक भन्दा लामो त्याग, तपस्या र वलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको कार्यान्वयन र संरक्षणका लागि सबै राजनीतिक दलहरुको बीच हार्दिक एकता कायम गर्दै लोकतन्त्रमा आधारित समतामूलक र समृद्ध नेपाल निर्माणमा अगाडि बढ्न हामी सबैका लागि नयाँ वर्ष २०७८ प्रेरणादायी बन्न सकोस् । यो वर्ष विश्वले कोभिड—१९ माथि पूर्ण रुपले विजय पाउन सफल हुनेछ भन्ने विश्वासका साथ स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु’, वक्तव्यमा भनिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *