काठमाडौं । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई अलग अलग अस्तित्वमा ल्याइदिएपछि नेपालको राजनीति निकै अस्थिर ढंगले चलिरहेको छ । नेकपा नाम ऋषिराम कट्टेललाई दिइएपछि सर्वोच्चले एमाले र माओवादीलाई नाम फेरेर आउन आदेश दिएको थियो । तर, सर्वोच्चको फैसलामा पुनरावलोकन दिइए पनि अब दुवै पार्टीबीचको एकता तत्कालका लागि टरेको छ ।
एमाले छुट्टै पार्टी भएपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले एकलौटी ढंगले चलाइरहेका छन् । उनले अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गरिदिएका छन् । ओलीको सो निर्णयसँगै अब एमालेमा वरिष्ठ अध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव कुनै अस्तित्वमा छैन । एमालेमा अब अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलको निर्णय मात्र आधिकारिक हुन्छ ।
तर, वामदेव गौतमले अझै आफू उपाध्यक्ष भएको दाबी गरेका छन् । गौतम एमालेबाट राष्ट्रिय सभा सदस्य पनि हुन् । तर, पछिल्लो समय उनी नेकपा एकता अभियानमा संलग्न छन् । तर, उनलाई प्रधानमन्त्री ओलीले कुनै भाउ दिएका छैनन् । तर, पनि वामदेवले आफू एमाले उपाध्यक्ष भएको भन्दै सूचना र विज्ञप्ति जारी गर्दै आएका छन् ।
नयाँ वर्षको अवसरमा वामदेवले सबैलाई शुभकामना दिँदै पार्टीमा आफ्नो स्टाटस उपाध्यक्ष नै भएको उल्लेख गरेका छन् । मंगलबार दिउँसो सामाजिक सञ्जालमा गौतमले लेखेका छन्–
नव वर्ष २०७८ का अवसरमा स्वदेश र विदेशमा रहनुहुने दाजुभाइ दिदिबहिनी र परिवारजनमा म तपाईहरु सबैको व्यक्तिगत तथा सार्वजनिक जीवन सुखमय रहोस् भन्ने कामना व्यक्त गर्दछु । यहाँ तथा यहाँको परिवारको सुस्वास्थ्य, दीर्घायुका साथै सकारात्मक उपलब्धिका निम्ति शुभकामना व्यक्त गर्दछु ।
वामदेव गौतम, उपाध्यक्ष, नेकपा (एमाले)
संयोजक, नेकपा एकता राष्ट्रिय अभियान
अध्यक्ष, अखिल नेपाल किसान महासंघ




