काठमाडौं । राजनीतिमा नैतिकता धेरै ठूलो हतियार हो । तर, पछिल्लो समय नेपाली दुई नेताले त्यो नैतिकतालाई तिलाञ्जली दिएका छन् । बहुमत प्राप्त प्रधानमन्त्री भए पनि नैतिकता नरहेपछि एक मिनेट पनि कुर्सीमा बस्न मिल्दैन । उनले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि पदबाट राजीनामा दिएर अरुलाई छाड्नुपर्ने हो ।
तर, उल्टै ओली अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धम्क्याइरहेका छन् । उनलाई नैतिकता सिकाउँदै आएका छन् । ‘तिमीहरूको समर्थन मलाई चाहिन्न, फिर्ता लैजाऊ’ भनेर उनले प्रचण्डलाई चुनौती दिइरहेका छन् । ओलीले यतिसम्म भन्दा पनि प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेका छैनन् ।
तैपनि प्रचण्डमा ओलीप्रतिको मोह अझै टुटेको छैन । आफ्ना १६ सांसद ओलीले लैजाँदा पनि प्रचण्डले उनलाई समर्थन गरिरहनुको भित्री रहस्य के हो ? प्रचण्डले यसबीचमा आफ्ना चारजना प्रतिनिधिसभा सदस्य, दुईजना राष्ट्रिय सभा सदस्य र १० जना प्रदेश सांसद गुमाएका छन् । अर्थात् ओलीले लगेका छन् । तर, पनि प्रचण्डलाई ओलीलाई समर्थन गरिरहनुको बाध्यता के आइलाग्यो ? चर्चा हुन थालेको छ ।
जबकि प्रचण्ड अहिले आफैं ओलीविरुद्ध मोर्चाबन्दीमा जुटेका छन् । आफू चाहिँ ओलीलाई दिएको समर्थन फिर्ता लिन नसक्ने अनि कांग्रेस र जसपालाई ओली टिकाइरहने भन्दै प्रचण्डले अर्को तमासा देखाएका छन् । जबसम्म प्रचण्डले ओलीलाई दिएको समर्थन फिर्ता लिँदैनन्, तबसम्म नयाँ राजनीतिक कोर्ष अघि बढ्न नसक्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताउँदै आएका छन् । कांग्रेसले ओलीको विकल्प दह्रोसँग नखोज्नुको कारण पनि त्यही हो ।
प्रधानमन्त्री बन्ने बेला ओलीलाई प्रतिनिधिसभाको ६४ प्रतिशत समर्थन थियो । कांग्रेसबाहेक सबैले समर्थन गरेका थिए । तर, पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगै ओलीले त्यो समर्थन गुमाए । आफ्नै पार्टी दुई चिरा भयो । हिजो एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा एकता अदालतले नै खारेज गरिदियो । ओलीको संसद् विघटनको निर्णय अदालतले बदर गरिदियो ।
सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेसँगै नैतिकताका आधारमा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने हो । तर, ओलीमा पहिलेकै जस्तो घमण्ड देखियो । आफू नभए नेपाल अघि बढ्न नसक्ने मात्र होइन, नेपाली जनताले साससमेत फेर्न बिर्सने भ्रम ओलीमा देखियो । त्यही भएर अहिले पनि उनी कुर्सीमै छन् ।




