देश

कांग्रेसको प्रस्तावबारे छलफल गर्न जसपाको पदाधिकारी बैठक सुरु

काठमाडौं । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले राखेको प्रस्तावबारे छलफल गर्न जसपाको पदाधिकारी बैठक बसेको छ । केही समयअघि सुरु भएको बैठकमा सत्ता गठबन्धनबारे औपचारिक निर्णयको प्रयास हुने छ ।

जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् सदस्य डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ भेलामा सहभागी भएको नेता केशव झाले बताए ।

जसपाभित्र प्रधानमन्त्री केपी ओलीको विकल्पबारे दुई मत छ । अध्यक्ष ठाकुर पक्ष ओलीको निरन्तरताको पक्षमा छन् भने उपेन्द्र यादव ओलीको विपक्षमा छन् ।

जसपाले रेशम चौधरीलाई रिहा, राजनीतिक मुद्दामा जेल परेका कैदीलाई छोड्ने र संविधान संशोधनलाई आफ्नो राजनीतिक प्रतिष्ठाको विषय बनाएको छ । ठाकुर र महतोले ओलीबाहेक अरुले आफ्नो पार्टीले माग पूरा गर्न नसक्ने दाबी गर्दै आएका छन् । सम्भवतः आज जसपाले ओली सरकारलाई निरन्तरता दिने, कांग्रेसको नेतृत्वमा सरकार गठन हुन नसक्ने निर्णय गर्ने स्रोतले बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *