चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताएका छन । चितवनमा पत्रकारसँग कुराकानीका क्रममा काेइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन ।
उनले भने, “शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा अब सरकार बन्छ । यस विषयमा अन्य दलसँग छलफल जारी छ ।” जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने उनको भनाइ थियो ।
उनले थपे , “जसपासँग छलफल भइरहेको छ । उहाँहरु पनि आन्तरिक छलफलमा हुनुहुन्छ ।” जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुने उनले बताए । फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशनलाई असर नगर्ने गरी सरकारमा जानुपर्ने बताए। उनले भने , “समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्नु हुँदैन ।”




