नयाँ वर्ष भन्छन् यहाँ के नयाँ खै ?
हिजो जे थियो त्यै छ नौलो कहाँ खै ?
उदाए उनै सूर्य नौलो नयाँ खै ?
छ उस्तै बिहानी लुके जून उस्तै ।१।
चराको उही तान गाना उही नै
बगेको नदी त्यै किनारा उही नै
हिमाली छ हावा बगेको छ पानी
नयाँ छैन मान्छे पुरानै छ बानी ।२।
नयाँ शिल्प यो काव्य भाषा नयाँ हो
मधुश्री मितेरी तमासा नयाँ हो
छ मान्छे मधौरो नयाँ चिन्तना के ?
सबै राजसी ठाँट बोक्रो नयाँ के ?
थिए नग्न रूपै थिएनन् उमङ्ग
कसैले चढायो पठाएर रङ्ग
हटाएछ नाङ्गो फकाएछ प्राणी
बनाएछ बेग्लै गलंैचा बगानी ।४।
पुरानै छ पर्दा बिलौना छ झर्को
स्वरूपी नियाल्दा खुराफात चर्को
नहून् देशद्रोही नभोगून् सजाय
भला आदमी क्वै नओऊन् पराया ।५।
लछारो पछारो नहोओस् न कोही
घचारो थचारो हुनै हुन्न कोही
नयाँझैं छ केही पुरानै छ दाउ
अचानो बनाए कठै ! दुख्छ घाउ ।६।
उचो भावना ली दिशा बुन्नु पर्छ
सही मार्गमा भै उचा बन्नु पर्छ
नहुन् क्रोध ईष्र्या न वैरी सिरानी
फिरोस् साल उम्दा जदौ जिन्दगानी ।७।
* * *
पदम दाहाल, मादी, संखुवासभा
हालः लोकन्थली, भक्तपुर




