राजनीति

आफ्ना नेता कार्यकर्ताको मुद्दा फिर्ता लिएलगत्तै ओली सरकारमा सामेल हुँदै जसपा

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रलाई जिल्याउँदै जसपा ओली सरकारमा सामेल हुने अन्तिम कसरतमा लागेको छ । त्यसका लागि प्रधानमन्त्री केपी ओलीले जसपाका नेता कार्यकर्तामाथि विभिन्न अदालतमा दायर भएका मुद्दा फिर्ता लिन सकिने आश्वासन दिएका छन् ।

जसपाले प्रधानमन्त्री केपी ओली सरकारको निरन्तरताका लागि मुख्य मागको रुपमा अघि सारेको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्तामा गर्न सरकार तयार भएको हो ।

थुनामा रहेका पार्टीका सांसद रेशम चौधरीको रिहाइ, नागरिकता विधेयक पास गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग जसपाले राखेको छ। सोही मागको संवोधन गर्ने क्रममा जसपा र सरकारसँग भएको सहमतिका आधारमा गृह मन्त्रालयमा २१० जनाको मुद्दा फिर्ता लिनु पर्ने सूची तयार भएको छ ।

गृह मन्त्रालयमा मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको नामावली बुझाउनुअघि जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीसँग एक्ला एक्लै कुराकानी गरेका थिए।

जसपाको अर्को पक्ष ओलीलाई सरकारबाट फाल्न कांग्रेस र माओवादी केन्द्रसँग औपचारिक, अनौपचारिक वार्तामा सक्रिय छ । बाबुराम भट्टराई र उपेन्द्र यादव कुनै पनि हालतमा ओली सरकारलाई निरन्तरता दिन नहुने पक्षमा छन् । तर, महन्थ ठाकुर र राजेन्द्र महतो भने अहिले नै ओली सरकारमा सामेल हुनुपर्ने पक्षमा छन् । तर, प्रधानमन्त्री ओलीको लोकप्रियता भने दिनप्रतिदित गिर्दो अवस्थामा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *