काठमाडौं । नेपाली कांग्रेसले आज प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्दै छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार अपरान्ह ३ बजेका लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतालाई छलफलका लागि आमन्त्रण गरेका छन् ।
नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मुलुकको समसामयिक परिस्थितिका बारेमा साझा धारणा बनाउन बैठकको आयोजना गरिएको हो ।
आजको बैठकबाट राजनितिक निकास निस्कने बताइएको छ । यसअघि चैत २० गते बसेको कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकमा सभापति देउवाले प्रधानमन्त्रीको राजिनामा मागेका थिए । प्रधानमन्त्रीले राजिनामा नदिने बताइरहेको बेला अबको राजनितिक अवस्थालाई कसरी निकास दिन सकिन्छ भन्नेबारे आजको तीनदलीय बैठकमा छलफल हुनेछ ।
माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादवले सभापति देउवालाई प्रधानमन्त्रीको अफर गरिसकेको छन् । तर जसपाकै महन्थ ठाकुर लगाएतका नेताहरूले भने प्रधानमन्त्री केपी शर्मा ओलीतिर हिमचीम बढाएकोले जसपाको पूर्ण समर्थन हुनेमा आशंका छ । यद्यपी आजको बैठकमा महन्थ ठाकुरलाई पनि बोलाइएको छ ।




