काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक आह्वान गरेका छन् । पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि सभापति देउवाले शुक्रबार ३ बजे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएका हुन् ।
माओवादी केन्द्रले आफ्ना चार सांसदलाई कारबाही गरेपछि सभापति देउवाले तीन दलको बैठक बोलाएका हुन् । जसपाले ओली सरकारसँग हिमचिम बढाएकाले सभापति देउवाले आह्वान गरेको तीन दलीय बैठकमा उसको भूमिका कस्तो रहन्छ भन्ने विषयमा धेरैले चासोपूर्व हेरेका छन् । नयाँ सरकार गठनका लागि बैठक केन्द्रित रहे पनि जसपाको भूमिकाले गर्दा निष्कर्षमा पुग्ने सम्भावना नरहेको विश्लेषण गरिएको छ ।




