राजनीति

सांसद पद खारेजीसँगै मन्त्री पद पनि गुम्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) छाडेर एमाले प्रवेश गरेका ४ जना सांसदको पद खारेज भएसँगै उनीहरुको मन्त्री पद गुमेको छ । प्रतिनिधिसभा सदस्यहरु अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीको सांसद पद खारेज भएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले उनीहरुको सांसद पद खारेज भएको जानकारी दिए । माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर पार्टी परित्याग गरेका चार सांसदलाई कारबाही गरेको जानकारी गराएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुने प्रावधान छ ।

सांसद पद खारेजीसँगै उनीहरुको मन्त्री पद पनि गुमेको छ । पूर्वसभामुख तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सांसदबाट हटेसँग मन्त्री पदबाट पनि हट्ने व्यवस्था संविधानमा रहेको सुनाए । उनले भनेका छन्, ‘मन्त्री बन्न अब उहाँहरूलाई प्रधानमन्त्रीले संविधानको अर्को धाराबाट नियुक्त गर्नुपर्छ ।’ उनीहरू संविधानको धारा ७६ को उपधारा ९ अनुसार मन्त्री भएका थिए ।

संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुनसक्ने व्यवस्था छ । तर त्यसरी मन्त्री भएको व्यक्तिले ६ महिनाभित्र प्रतिनिधिसभा वा राष्ट्रियसभामध्ये एकको सदस्यता प्राप्त गर्नुपर्नेछ । सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्रका चार सांसदको पद खोसिएको सूचना प्रतिनिधि सभामा सुनाएसँगै ती सांसदको मन्त्री पद पनि गुमेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *