काठमाडौं। माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरी मन्त्री बनेका चार नेताको संघीय सांसदको पद गुम्ने भएको छ ।
पार्टी परित्याग गरेर एमाले पुगेका चार सांसदलाई पदमुक्त गर्न माग गर्दै माओवादीले संसद सचिवालयमा पत्र दर्ता गरेको थियो । बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनीहरु सांसदबाट मुक्त भएको घोषणा गर्ने तयारी गरेका छन् ।
यसरी पद खारेजीमा पर्नेमा कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह, अर्घाखाँचीका टोपबहादुर रायमाझी र कैलाली–३ का गौरीशंकर चौधरी छन् । भट्ट आपूर्ति, रायमाझी ऊर्जा, साह सहरी विकास तथा चौधरी श्रममन्त्री छन् ।
संसद सचिवालय स्रोतका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको आधारमा माओवादी केन्द्रले गरेको कारबाही तथा सूचनालाई आधार मानी सो जानकारी गराउन लागिएको हो ।
नेकपा विभाजनको बेला केपी ओली पक्षमा लागेका यी नेताहरु सर्वोच्च अदालतले एमाले–माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि पनि ओलीको साथ नछाड्ने भन्दै एमालेमा बसेका थिए ।
यसअघि माओवादी परित्याग गरेका लुम्विनीका दुई र कर्णालीका एकजना माओवादी सांसद पद रिक्त भइसकेको छ ।माओवादीले गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद पनि रिक्त गराउँदैछ । सांसद नरहेका उनीहरुलाई मन्त्री भइराख्न पुर्ननियुक्ति गनुपर्ने हुन्छ।
संविधानको धारा ७८ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्नसक्ने र मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्य हुनुपर्ने प्रावधान छ।




