देश

सांसद पद गुम्नेभएपछि प्रभु साहले प्रचण्डविरुद्ध पोखे आक्रोश, गरे यस्तो विलौना

काठमाडौं । माओवादी केन्द्रले आफ्नो पार्टीबाट जितेर अहिले एमाले प्रवेश गरी मन्त्री बनेका चार सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा पत्र दर्ता गरेपछि प्रभु साह तिलमिलाएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध आक्रोश पोखेका छन् ।

पार्टी परित्याग गर्ने प्रतिनिधिसभाका चार सदस्यको पार्टी सदस्यता खारेज गर्दै सांसद पदबाट समेत हटाउन माओवादी केन्द्रले मंगलबार पत्राचार गरेपछि साह तिल्मिलाएका हुन् ।

मन्त्री साहले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्– ‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवं निरंकुशताको पराकाष्ठा हो ।

आफू चुनाव जित्नलाई नेकपा एमालेसंग एकता–सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख़्नेहरूले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दलत्यागको कानुनी डण्डा चलाउन कुनै नैतिकताले सुहाउँदैन ।’

हाल सहरी विकासमन्त्री रहेका साहले अगाडि लेखेका छन्– ‘निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन् । अर्थात्, रूपमा अहिलेकैं संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक–कानुनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुस्प्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो ।’

प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गरिएको जानकारी माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयलाई गराएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *