देश

ओलीलाई साथ दिने चार मन्त्रीको सांसद पद खोसिँदै, आजै संसद् सचिवालयमा पत्र दर्ता गर्ने तयारी

काठमाडौं । माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई साथ दिने चार मन्त्रीको सांसद पद खोस्ने तयारी गरेको छ । त्यसका लागि माओवादीले आफ्नो दलको तर्फबाट मन्त्री बनेर एमालेमा लागेका गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र सहरी विकासमन्त्री प्रभु साहको सांसद पद खोस्ने तयारी गरेको हो ।

स्रोतका अनुसार माओवादी केन्द्रले एक दुई दिनभित्रै उनीहरूलाई कारबाही गरेको पत्र संसद सचिवालयमा दर्ता गर्ने भएको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा बसेर दलबदल गरेका ६ जनामध्ये चारजनाको सांसद पद नरहने गरी कारबाही गरिँदै छ । खानेपानी मन्त्री मणि थापा र खेलकुदमन्त्री दावा तामाङ भने सांसद छैनन् ।

संसद सचिवालयमा पत्र दर्ता गरेपछि एक सातापछि सभामुख अग्निप्रसाद सापकोटाले त्यसको कार्यान्वयन गर्नेछन् । त्यसपछि चारजना मन्त्रीको सांसद पद सकिनेछ । सुरुमा पत्र दर्ता गर्ने र ६ दिनपछि कार्यान्वयनमा लाने भन्ने सहमति थियो तर प्रमुख सचेतक देव गुरुङले ६ दिनपछि पत्र दर्ता गर्ने भनेर बुझिदिनाले समस्या उत्पन्न भएको बताइन्छ ।

माओवादी केन्द्रले पाँचैजना मन्त्रीहरुलाई यसअघि पार्टी स्पष्टीकरण सोधेको थियो । तर, उनीहरुले त्यसको जवाफ पठाएका थिएनन् ।
थापा र भट्ट नेकपा हुँदै ओली नेतृत्वको सरकारमा थिए भने रायमाझी, साह र चौधरी सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि मन्त्री खान गएका थिए । पाँच मन्त्रीमध्ये थापा राष्ट्रिय सभा सदस्य हुन् भने बाँकी प्रतिनिधि सभा सदस्य हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *