काठमाडौं । माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। पार्टीका केही नेताहरू काठमाडौं बाहिर रहेकाले आज बस्ने भनिएको बैठक स्थगित भएको हो ।
माओवादी केन्द्रले आइतबार दिउँसो ११ बजेका लागि स्थायी कमिटी बैठक डाकेको थियो। आजको बैठकमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे चर्चा चले पनि बैठक नै नबस्ने भएको हो ।
नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टीसँग वार्ता हुने भएपछि बैठक स्थगित भएको एक नेताले जानकारी दिए । पछिल्लो समय जसपा प्रधानमन्त्री केपी ओलीसँग नजिकिए पनि माओवादीले सो पार्टीसँग शीघ्र वार्ताको प्रयास थालेको हो। वार्ताका लागि माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ खटिएका छन्।
यसअघि माओवादीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ओली सरकारविरुद्ध कुनै पहलकदमी नलिएको आरोप लगाउँदै आएको थियो। कांग्रेसले शनिवार मात्र नयाँ सरकार गठन गर्न पार्टीले अग्रसरता लिने निर्णय गरेको छ। कांग्रेसले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।




