काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजेका लागि बैठक डाकिएको छ ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुको सहभागिता रहने छ ।
बैठकमा कांग्रेसको भदौमा तोकिएको १४औं महाधिवेशनको तयारीका विषयमा छलफल हुने छ । मुलुकको पछिल्लो राजनीतिक परिस्थित र सरकारको विषयमा छलफल गर्ने कांग्रेसका एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारको विकल्पको विषयमा पनि बैठकमा छलफलको तयारी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई सरकार बनाउने कि ओली सरकारमै सामेल हुने विषयमा प्रस्ट पार्न दिएको डेडलाइनबारे पनि आजको बैठकमा छलफल हुने बुझिएको छ ।
केही दिनअघि प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर नयाँ सरकारको नेतृत्व लिइदिन प्र्रस्ताव गरेका थिए । देउवाले पार्टी र जसपासँग छलफल गरेर धारणा सार्वजनिक बताएका थिए ।




