विराटनगर । प्रदेश नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । प्रदेशसभाको बैठक चैत्र २३ गते बस्नुअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले बताए ।
माओवादी केन्द्रले गत पुस १२ गते दर्ता भएको मुख्यमन्त्री शेरधन राईविरुद्धको अविस्वासको प्रस्ताव पनि फिर्ता लिने भएको छ । नेकपा एमालेको नेपाल पक्षका १६ जना सांसदहरुले मंगलबार सामुहिकरुपमा अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएका थिए । माओवादी केन्द्रले संसद बैठकबाटै फिर्ता लिने तयारी गरेको हो ।
सर्वोच्च अदालतले फागुन २३ मा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रदेशसभामा एमाले एक्लैको बहुमत पुग्छ । प्रदेशसभामा नेकपा एमालेको ५१ जना सांसद छन् । नेपाली कांग्रेससँग २१, माओवादी केन्द्रसँग १६, जसपासँग ३ तथा राप्रपा र संघीय लोकतान्त्रिक मञ्चसँग एक–एक जना सदस्य छन् । बहुामत सरकार निर्माणका लागि ४७ मत आवश्यक पर्छ । एमालेबाहेकका दलहरुको संख्या ४२ मात्रै रहेको छ ।




