काठमाडौं । प्रधानमन्त्री केपी ओली बुधबारको प्रतिनिधिसभा बैठकमा पनि अनुपस्थित भएका छन् । यसअघिका बैठक छल्दै आएका ओली आजको बैठकमा आउने अनुमान गरिएको थियो । तर, ३ बजेसम्म चलेको बैठकमा उनी उपस्थित भएनन् । अर्को बैठक चैत २३ गतेका लागि बोलाइएको छ ।
नेपाली कांग्रेसले प्रधानमन्त्री ओली संसदमा उपस्थित नभएको बारेमा प्रश्न उठाएको छ। कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री ओलीले आफूमाथि सुरक्षा थ्रेट बढेको बताएको र त्यही विषयलाई लिएर प्रतिनिधिसभामा नआएको हो कि भनेर गृह मन्त्रालयसँग जवाफ मागेका छन्।
‘केही समयअगाडि प्रधानमन्त्री ओलीले आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बेला भौतिक आक्रमण हुन सक्ने अभिव्यक्ति दिनु भएको थियो’, उनले भने, ‘उहाँलाई के के सुरक्षा व्यवस्था थपिएको छ ? त्यसबारेमा संसदलाई जानकारी दिनु आवश्यक छ।’
बडूले प्रधानमन्त्री ओली प्रतिनिधिसभामा नआएकोमा पनि आपत्ति जनाए। ‘प्रधानमन्त्री प्रतिनिधिसभाका यति धेरै बैठक हुँदा पनि किन आउनु भएन’ ?, उनले सोधे, ‘कतै नआउनुको कारण सुरक्षा खतरा त होइन ? संसद चलिरहेको छ तर आजसम्म प्रधानमन्त्री संसदभित्र देखिनु भएको छैन, कतै उहाँमाथि सुरक्षा खतरा कायमै रहेको हो ?’




