देश

बबरमहलमा खुल्यो माधव नेपाल पक्षको कार्यालय, ओलीसँग नझुक्ने उदघोष

काठमाडौं । एमाले नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीसँग नझुक्ने उदघोष गरेका छन् । बबरमहलमा बुधबार युवा संघको कार्यालय उद्घाटन गर्दै नेपालले सो घोषणा गरेका हुन् ।

नेता नेपालले प्रधानमन्त्री केपी ओलीले कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत बनाउन खोजे पनि त्यसलाई बिफल बनाइने दाबी गरे । युवा संघले स्थापना गरेको कार्यालय भवनको उद्घाटन गर्दै नेता नेपालले अबका दिन एमालेका लागि अझै चुनौतीपूर्ण रहने दाबी गरे ।
‘एमाले पार्टी हामीले बनाएका हौं, अहिले केही मानिस मन्त्री र पद खान आएकाले यो विरासत निर्माण गरेको होइन, त्यसैले एमालेको मूलधार भनेका हामी हौं, कसैले कारबाही गर्ने हैसियत राख्न सक्दैन,’ उनले भने ।

अब देशव्यापीरुपमा कम्युनिष्ट विचारधारा र दर्शनलाई नयाँ ढंगले जीवनशैलीका रुपमा उतार्ने असली वामपन्थीहरुको मोर्चाबन्दी गर्नुपर्ने आवश्यकता रहेको समेत उनले प्रष्ट्याए । नेता नेपालले आफू पक्षीय बेग्लै कार्यालय रहने संकेत गर्दै भने– ‘हामीलाई पनि भेला छलफल गर्न कार्यालय चाहिएको छ , जानकारी भए भन्नुहोला ।’

एमालेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध समानान्तर गतिविधिका साथ नेपाल–खनाल समूहले भातृ संगठनमा छुट्टै कमिटीहरु गठन गरेको छ। यसअघि नै महिला संघ, अनेरास्ववियु लगाएतमा नेपाल समूहले आफ्नो छुट्टै समूह बनाएको छ। समानान्तर रुपमा गतिविधि बढन थालेपछि ओलीले नेपाल–खनाल समूहका नेतालाई कारवाही गरेका छन्। नेपाल र उपाध्यक्ष रावललाई ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन् भने नेपाल समूहले देशव्यापी रुपमा ओलीविरुद्ध एकजुट हुन आह्वान गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *