समाचार

कर्णालीका मुख्यमन्त्री शाहीलाई संकट, विश्वासको मत लिन प्रदेश प्रमुखको पत्र

काठमाडौं । माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार संकटमा परेको छ । कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले एमाले संसदीय दलले समर्थन फिर्ता लिएको जानकारी गराएकाले सरकार अल्पमतमा परेको भन्दै विश्वासको मत लिन पत्राचार गरेपछि मुख्यमन्त्री शाहीको पद धरापमा परेको हो ।

प्रदेश प्रमुख कलौनीले नेकपा एमाले संसदीय दलले दिएको समर्थन फिर्ताबारे मुख्यमन्त्री शाहीलाई पठाएको पत्रमा ध्यानाकर्षण गराइएको छ। कर्णालीमा एमालेको माधव नेपाल समूहले पनि संसदीय दलले गरेको निर्णयलाई नै मान्ने बताएको छ । यसअघि आफूहरुको सहमतिबेगर संसदीय दलले सरकारको समर्थन फिर्ताको निर्णय गरेकाले मान्य नहुने बताउँदै आएका नेपाल समूहका सांसदहरुले अब एमालेकै सरकार बनाउनेमा सहमति गरिसकेको एमाले कर्णाली प्रदेश समितिले जनाएको छ ।

कर्णाली प्रदेशमा सरकार बनाउन २१ सांसद चाहिन्छ । एमालेको २०, माओवादी केन्द्रको १३, कांग्रेसको ६ र राप्रपाको एक सांसद छन् । एमाले एक्लैको सरकार बनाउने सिट रहेकाले माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारबाट हात धुनुपर्ने अवस्था आएको छ । शाहीले विश्वासको मत लिन नसके एमाले नेतृत्वमा नयाँ सरकार गठन हुने बताइएको छ । सम्भवतः एमाले र कांग्रेसको गठबन्धन सरकार बन्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *