काठमाडौं । सर्वोच्च अदालतको दुईवटा फैसलापछि सबैभन्दा अप्ठेरो अवस्थाबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपाल परेका छन् । प्रचण्डको त आफ्नै पार्टी छ । अध्यक्ष आफैं छन् । तर, नेपालको भने राजनीति नै दाउमा लागेको छ ।
जबसम्म प्रधानमन्त्री पदमा केपी ओली रहिरहन्छन्, प्रचण्ड र माधव नेपाललाई राजनीति गर्न सजिलो हुने छैन । सोही कारण अहिले प्रचण्ड ओलीलाई हटाउन सक्रिय हुन थालेका छन् ।
यसैक्रममा उनी मंगलबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगे । दुवैबीच झन्डै डेढ घन्टा कुराकानी भएको थियो । प्रचण्डले ओली हटाउन ढिला भइसकेको भन्दै सरकारको नेतृत्व लिन प्रस्ताव गरे । प्रधानमन्त्री लिएर कांग्रेस, माओवादी केन्द्र र जसपाको सरकार बनाउन प्रचण्डले देउवालाई आग्रह गरे ।
तर, प्रचण्डको प्रस्तावमा देउवाले कुनै ठोस उत्तर नदिएको स्रोतले बताएको छ । उनले बुधबार जनता समाजवादी पार्टी (जसपा) नेताहरुसँग कुरा गर्ने र पर्सि निर्णय लिने जवाफ दिएको बताइन्छ ।
माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि प्रस्ताव राख्दै आएको छ । कांग्रेस नेताहरु पनि देउवाको नेतृत्वमा सरकार बनाउन एकमत देखिएका छन्, तर जसपाले निर्णय नगरेको भन्दै देउवाले पहल लिएका छैनन् ।
जसपामा दुई धार छ । अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसहितका नेताहरु प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा छन् । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु कुनै हालतमा ओली सरकारको विकल्प दिनुपर्ने पक्षमा छन् ।
अहिलेसम्म माओवादी केन्द्रले ओलीलाई दिएको समर्थन फिर्ता लिएको छैन । सोही कारण पनि देउवाले ठोस निर्णय नदिएको बताइएको छ ।
यदि माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा ओलीले विश्वासको मत देखाउनुपर्ने हुन्छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए मात्र आफू सरकार बनाउन अघि सर्ने नत्र नयाँ सरकार बनाउने प्रयास अहिले थाती रहने देउवाको भनाइपछि प्रचण्ड बुढानिलकण्ठबाट बाहिरिएका थिए ।




