काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुई नेतामाथि गरेको कारबाही नमान्ने र नयाँ पार्टी पनि नबनाउने निष्कर्ष निकालेको छ ।
आज मंगलबार अर्का वरिष्ठ नेता झलनाथ खनालको समेत उपस्थितिमा बसेको नेपाल समूहका ११ स्थायी कमिटी सदस्यहरुको बैठकले कारबाहीको निर्णय विधान विपरित भएको निष्कर्ष निकालेको हो । सो समुहले पार्टी अध्यक्ष ओलीले नै विधान विपरीत काम गरेको भन्दै उक्त कारबाही कुनै पनि हालतमा स्वीकार नहुने निष्कर्षमा पुगेका हुन् ।
पार्टी अध्यक्ष ओलीले हिजो सोमबार मात्रै वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट ६ महिना निलम्बन गरेका थिए । हिजो अध्यक्ष ओलीले गरेको कारबाही विधान विपरित भएको र उक्त कदमले पार्टीमा विचार र संगठनबारे छलफल–बहसको ढोका बन्द गर्ने र एमालेलाई विभाजनतिर लैजाने रहेको यो समूहको निष्कर्ष छ ।
अध्यक्ष ओली आफैं पार्टी विधान विपरित चलेको भन्दै नेपाल समूहले उनले गरेको कारबाही नमान्ने बताएको छ । ‘हामी उहाँले जतिसुकै मान्छेलाई कारबाही गरेपनि त्यो हामी मान्दैनौं । किनकी उनले गरेको कारबाहीलाई नेकपा एमालेको विधानले चिन्दैन,’ बैठकपछि उपाध्यक्ष युवराज ज्ञवालीले भनेका छन् ।
आफूहरुको सांगठनिक र वैचारिक गतिविधि विना रोकटोक कायम रहने उनले जानकारी दिए । यद्यपि नयाँ पार्टी नबनाउने ज्ञवालीले प्रष्ट पारेका छन् ।




