देश

अब माधव नेपालको सांसद पद पनि निलम्बनमा पर्ने ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेपछि अब नेपालको सांसद पद असुरक्षित देखिएको छ । साधारण सदस्यबाट निलम्बन भएपछि नेता नेपालको सांसद पनि निलम्बनमा परेको छ ।

पार्टी हितविपरीत र आपराधिक गतिविधिमा लागेको आरोप लगाउँदै ओलीले नेपाल र नेता भीम रावललाई ६ महिनाका लागि निलम्बनको निर्णय गरेको थियो । ओली एमाले संसदीय दलको नेतासमेत हुन् । उनलाई सांसदलाई कारबाही गर्ने अधिकार रहन्छ । पार्टीको साधारण सदस्य नै नरहेका व्यक्ति अब कसरी सांसद हुन्छन् ? भन्ने प्रश्न उब्जेको हो ।

एमालेले नेपाललाई सच्चिनका लागि यो अन्तिम मौका भएको चेतावनी दिएको छ । पूर्वमहासचिव नेपालले आपराधिक क्रियाकलाप स्वीकार नगरेकाले निलम्बन गरेको उल्लेख छ । पार्टीका आधिकारीक बैठकमा कहिल्यै उपस्थित नहुने, तर प्रचण्डसँग पटक पटक भेट गरिरहेको भन्दै उनीमाथि कारबाही गरिएको थियो ।

नेता नेपाललाई सोमबार पठाइएको पत्रमा लेखिएको छ, ‘आपराधिक क्रियाकलापहरू स्वीकार्ने, भूलसुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिका लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरूप्रति प्रायश्चित्त गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो तपाईंले उल्टै स्पष्टीकरण सोध्ने जस्तो अनधिकृत र हास्यास्पद कार्य गरेको देखियो ।’
तर, अहिलेसम्म एमालेले प्रतिनिधिसभालाई नेता नेपालको सांसद पद निलम्बन गर्न सिफारिस गरेको छैन । एमाले संसदीय दलले कारबाही गरेको व्यहोरा पनि संसद् सचिवालयमा पठाएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *