काठमाडौँ । सर्वोच्चको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले आज पुनरावलोकनको निवेदन दर्ता गर्ने भएको छ ।
नेकपा नाम ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलाविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड कानुन व्यवसायीसहित मंगलबार बिहान सर्वोच्च अदालत जान लागेका हुन् ।
राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले मंगलबार बिहान ११ बजे प्रचण्डसहितका नेताहरू पुनरावलोकनको निवेदन लिएर अदालत जाने जानकारी दिएका छन् ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सांसद रामनारायण बिडारी, वरिष्ठ अधिवक्ता शम्भु थापा, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, दिनमणि पोखरेल, मुक्ति प्रधानलगायतका कानुन व्यवसायीले सर्वोच्चको फैसलाउपर पुनरावलोकनमा जान सुझाव दिएका थिए ।
गत फागुन २३ गते न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले एमाले र माओवादी केन्द्र ब्युँताएपछि दुवै दल अलग अलग क्रियाशील छन् । सर्वोच्चको आदेशमा दुई पार्टीबीचको एकीकरणलाई अवैधानिक करार गर्दै एकीकरण गर्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा निवेदन दर्ता गर्न भनिएको थियो ।




