राजनीति

प्रधानमन्त्री र सभामुखको भेटपछि संसद् अन्त्यको खतरा टर्ला ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच तीन महिनादेखि औपचारिक भेटवार्ता हुन सकेको थिएन । ओलीले सभामुख सापकोटा सेटिङमा चलेको भनेर असन्तुष्टि जनाइरहेका थिए ।

सरकारले ल्याएको विधेयक र अध्यादेश रोक्न सभामुख लागेको भन्दै ओलीले सार्वजनिक रूपमै आक्रोश व्यक्त गरेका थिए । आफूनिकट सञ्चारमाध्यमलाई पनि उनले त्यही अभिव्यक्ति दिने गरेका थिए ।

सभामुख सापकोटाले संसद्ले बिजनेस पाउन नसकेको भन्दै प्रधानमन्त्री ओलीसँग समय माग गरिएको जानकारी दिएका थिए । जसअनुसार आइतबार प्रधानमन्त्रीलाई भेट्न सापकोटा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । दुवैबीच झन्डै दुई घन्टा कुराकानी भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

भेटवार्तामा संसदलाई प्रभावकारी बनाउने र सार्वजनिक महत्वको विधेयक अगाडि बढाउने विषयमा छलफल भएको उनको भनाइ छ । ‘कार्यपालिका र व्यवस्थापिकाका प्रमुखबीच भेटघाट हुनु सामान्य कुरा हो,संसदलाई प्रभावकारी बनाउने र सार्वजनिक महत्वका विधेयकहरु अघि बढाउनेवारे उहाँहरुले छलफल गर्नुभएको हो’, न्यौपानेले भने ।

प्रधानमन्त्री ओलीले यसअघिजस्तै सभामुखसँगको परामर्शबिनै संसद अधिवेशन अन्त्य गर्नसक्ने आशंका गरिँदै आएको थियो । दलहरूबीच सहमति पनि नहुने र संसद्ले बिजनेस पनि नपाउने अवस्था आएपछि संसद् विघटन नै हुनसक्ने आकलन गरिँदै आएको छ । ओलीमा संसद् भंग गरेर अध्यादेशमार्फत सरकार चलाउने चाहना पनि देखिएको छ । संसद् भए सरकार चलाउन असजिलो हुने उनले ठानेका छन् । त्यही भएर उनीले जुनसुकै बेला पनि संसद् भंग गर्ने बताउन थालिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *