काठमाडौं । केपी ओली सरकारलाई दिएको समर्थन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले फिर्ता लिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई दिएको समर्थन एकदुई दिनमै फिर्ता लिने बताएका हुन् ।
शनिबार बृहत नागरिक आन्दोलनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा प्रचण्डले संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव समेत बताए । कार्यक्रममा दाहालले भने, ‘अब म नैतिक र राजनीतिक ढंगले धेरै दिन पर्खिन सक्दिनँ, राजनीति जतासुकै जाओस् ।’
अबको निकासबारे हिजो सडकमा भएका दलहरुबीच न्यूनमत सहमति होस्, सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस् भनेर मात्र दाह्रा किटेर समर्थन कायम राखेको उनको भनाई थियो ।




