अध्ययनका अनुसार लगभग दुई तिहाई मानिसले राजनीतिक दल र यसका नेताहरुको अभिव्यक्तिमा विश्वास गर्दा रहेनछन् । यो संख्या राजनीतिमा सामान्य चासो राख्नेहरुको हो, चासो नै नराख्ने, राजनीतिसँग सरोकार नै नभएका मानिसको संस्था पनि थप्ने हो भने अध्ययनले प्रस्तुत गरेको अँकडा बढ्न सक्छ । स्वभाविक रुपले प्रश्न उठ्छ कि हामी कस्तो अवस्थामा छौं ? हामीसँग उपलब्ध राजनीतिक दल, नेतृत्व र कार्यकर्ता कस्ता रहेछन् ? विश्वास नै नभएका व्यक्तिहरुबाट शासित, विश्वास नै नभएका दल, नेतृत्व र प्रतिनिधिहरुलाई निर्वाचित गराउन परेको बाध्यता यसभित्र अन्तरनिहीत छ । विकल्पको अभावमा यस किसिमको बाध्यता मतदाताहरुको आइलाग्छ होला । होइन भने आफ्नो विश्वास नै नभएको दल वा व्यक्ति वा प्रतिनिधिलाई मतदान गर्नुको अर्थ र कारण के हुनसक्ला ?
सतहमा हेर्दा विश्वास गर्न सकिने प्रतिनिधि छन् त ? कस्ता कस्ता मानिस निर्वाचनबाट आएका छन् ? समानुपातिक र समावेशीताका आधारमा आएका प्रतिनिधिहरु कस्ता छन् ? यो दौडमा रहेका अन्य सम्भावितहरुको अनुहार, पृष्ठभूमि र व्यक्तित्व कस्तो छ ? योग्यता र क्षमताको कसीमा उत्रन सक्ने व्यक्तिहरु राजनीतिमा क्रियाशील छन्, छैनन् ? नेतृत्वको छनोट र रोजाइमा कस्ता कस्ता पात्र र प्रवृत्तिहरु छन् ? उसले प्रस्तुत गर्ने मार्गचित्र सन्तोषजनक छ त ? छैन । त्यसैले नै होला अधिकतम मानिस राजनीतिक नेतृत्वको बोलीमा विश्वास राख्दैनन् । मतदान बाध्यात्मक कारणले मात्र गर्छन् भन्ने देखाउँछ । राजनीतिक निकास किन आएन त भन्ने सन्दर्भलाई आकंलन गर्दा निस्कने निष्कर्ष पनि यही हो कि यस्तै सोच, चिन्तन, क्षमता एवम् पृष्ठभूमिका मानिस राजनीतिको निर्णायक तहमा भएकाले अपेक्षित भूमिका निर्वाह भएन, जसले नेतृत्वको विश्वासनीयताको ग्राफ धेरै कमजोर देखायो ।
माया गरेर सरकारको नेतृत्व कांग्रेसलाई वा देउवालाई सम्पने होइनन् । भीरबाट लड्न लाग्दा सिस्नो समाउने अर्थमा मात्र कांग्रेसलाई कुनै पनि कम्युनिष्ट घटक वा समूहले स्वीकार गर्ने हुन् ।
त्यसैले नै प्रश्न तेर्सिएको होला कि राजनीतिक पार्टीमा व्यापारी गएका हुन कि व्यापारीकोमा राजनीतिक पार्टी गएका हुन् ? राजनीतिको व्यापार अपार भएर व्यवसायीहरु पनि राजनीतिक व्यापारमा लागेका हुन् ? राजनीतिक दलका अधिकांश नेताको बसाई व्यापारिकोमा छ, व्यवसायीको घरमा बसेका छन् । त्यसैको आडमा ठेक्कापट्टा देखि लिएर पार्टीको प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा प्रतिस्पर्धा- निर्वाचित भएका छन् । हुँदाहुँदा पार्टी कार्यालय नै व्यापारीको घरमा स्थानान्तरण गरेका छन् । यो केवल कार्यालय स्थानान्तरणको विषय होइन, विचार, सिद्धान्त, आदर्श, मूल्य मान्यता र चरित्रकै स्थानान्तरणको विषय हो । यस्तै मूल्यहिनताले गर्दा विश्वसनीयता संकटमा परेको हो । राजनीतिक दल र त्यसको नेतृत्वले यस बीचमा गुमाएको साँख फर्काउन सजिलो देखिँदैन । कसले फर्काउने ? लम्पट कार्यकर्ताले यस्तो चुनौति सामना नै गर्न सक्दैनन भन्ने नागरिक तहमा पनि विश्वासनीय हस्तक्षेप छैन । दलका झोले कार्यकर्ता भएर नागरिकको अह्रँ भूमिका निर्वाह हुँदैन । सन्तुलन मिलाउँदा मिलाउँदै आफ्नो मौलिक पहिचान गुमाउने अवस्था आउँछ । यसको असरले र प्रभाव समाजका हरेक तह र तप्कामा विस्तार भएको देखिन्छ । यो विस्तारित रुपले हाम्रो समाजलाई कता डोहोर्याउँछ यसै भन्न सकिँदैन ।
ओलीले संसद विघटन गरेर असंवैधानिक हरकत देखाएका थिए, त्यसमा राष्ट्रपतिको पनि साथ रह्यो । उक्त कदम सर्वोच्च अदालतले बद्दर गरिदियो । संविधान आफ्नो ठाउँमा त आयो तर संसदले आजसम्म वैकल्पिक सरकार दिन सकेन । संसद पुनस्र्थापना भएकोमा खुशियाली मनाएका माधव–प्रचण्ड कुहिरोको काग भएका छन्, उनीहरुले खाएको खुवाएको लड्डुमा अत्याधिक भाङ मिस्सिएको रहेछ भन्ने सहरमा हल्ला चलेको छ । अहिलेसम्म राम्रोसँग होस् खुलेको छैन । जसले गर्दा ओलीका विरुद्ध अधिक विषक वमन गरेका पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्र व्यूतिएपछि पनि ओलीलाई दिएको समर्थन फिर्ता लिएका छैनन् ? समर्थन कायम राखिराख्नुको अर्थ र कारण के हो ? नेपाली जनता सामु जसले विश्वास त गर्दैनन्, तर पनि भन्नु आवश्यक छैन ? आफ्नो पार्टीबाट मन्त्री भएका व्यक्तिहरुका बारेमा पनि स्पष्ट निर्णय लिन नसक्ने नेतृत्व वा दल वा पार्टीलाई जनताले विश्वास प्रकट गरिदिनुपर्ने ? आफू ठोस निर्णय लिन नसक्ने अनि दोष अरुको टाउँकोमा हाल्न पाइन्छ ? जोसँग संसदमा सुविधाजनक प्रभावकारी संख्या छैन, उसले ताउरमाउर गरेर होला ? आफ्नो दलको निर्णय गर्न नसक्नेले अर्को दलको बारेमा आलोचना गर्न सुहाउँछ ?
माधव–प्रचण्ड गठबन्धनले निर्णायक कदम नचाल्दासम्म राजनीतिक अन्योल कायम रहने देखिन्छ । उनीहरुको निर्णयले मात्र परिस्थिति कस्तो बन्छ भन्ने आंकलन गर्न सकिन्छ र धारणा बनाउन सहयोग पुग्छ ।
शक्ति केन्द्रको इसाराअनुसार चल्नेहरुको भूमिका, गतिविधि र संकेत नबुझी उफ्रिनु को के अर्थ ? यस मामिलामा कांग्रेस सभापति देउवाले यो पटक धेरै परिपक्वा देखाए । हौसिएर कुनै निर्णय लिएका छैनन् । उक्साउन खोज्नेहरु पनि अली मत्थर भएका छन कि जस्तो छ । किन हो शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न बनाउन सबै कम्मर कसेर लागेका थिए, तर देउवाले धैर्यता राखेर हतार गरेनन ? सम्भावना छैन भन्ने बुझेर नै होला भन्ने अनुमान लगाउन सकिन्छ । घटनाक्रमले देउवाको आंकलन नै यथार्थपरक भएको देखाउँदै छ । माधव–प्रचण्ड गठबन्धनले निर्णायक कदम नचाल्दासम्म राजनीतिक अन्योल कायम रहने देखिन्छ । उनीहरुको निर्णयले मात्र परिस्थिति कस्तो बन्छ भन्ने आंकलन गर्न सकिन्छ र धारणा बनाउन सहयोग पुग्छ । त्यो अवस्थामा सम्म कांग्रेसले धैर्यता नै राख्ने हो । माया गरेर सरकारको नेतृत्व कांग्रेसलाई वा देउवालाई सम्पने होइनन् । भीरबाट लड्न लाग्दा सिस्नो समाउने अर्थमा मात्र कांग्रेसलाई कुनै पनि कम्युनिष्ट घटक वा समूहले स्वीकार गर्ने हुन् । कांगे्रस भित्रैको या वा त्यो समूह देउवालाई कसरी थप कमजोर बनाएर महाधिवेशन आफ्नो पक्ष वा अनुकूल बनाउन सकिन्छ भन्ने रणनीतिमा केन्द्रित छ । जसले गर्दा पनि राष्ट्रिय राजनीतिले दिशाबोध गर्न नसकेको हो ।
सत्ता राजनीतिमा देखिएको समस्या घरेलु मात्र पनि होइन कि भन्ने अनुमान लगाइन्छ । उत्तर र दक्षिण छिमेकीको माया, प्रेम, स्वार्थ एवम् सामिप्यताले भूमिका खेलेको जस्तो देखिन्छ । माओवादी केन्द्रको समर्थन फिर्ता नलिने संकेत होस वा जसपाले ओलीलाई समर्थन गर्न सक्ने सम्भावना नै किन नहोस् यसले असल छिमेकीको चासो ठम्याउन सकिन्छ । छिमेकीहरुप्रति अति बफादार र इमान्दार हाम्रो राजनीतिक नेतृत्वले स्पष्ट संकेत बेगर ठोस निर्णय लिन नसक्नु अस्वभाविक पनि होइन ।




