काठमाडौं । चालू संसद अन्त्य गरिने प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई जानकारी दिए । शुक्रबार बसेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चालू संसद अन्त्य गरिने र बैशाखमा बजेट अधिवेशन आह्वान गरिने जानकारी दिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
सरकारले विजनेश नदिएर कामविहिन बनेको संसदको बैठक प्रधानमन्त्री ओलीका यी भनाइसँगै अन्त्य गरिने छ । प्रधानमन्त्री ओलीले सबै सांसदलाई बजेट निर्माणमा योगदान पु-याउन सबै आग्रह गरेको प्रमुख सचेतक भट्टराईले जानकारी दिए ।
आजको बैठकमा माधव नेपाल समूहका सांसदहरु पनि सहभागी भएका थिए । वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई कसरी अघि बढाउने जिम्मा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीमा रहेको बताएका छन् । आज बसेको संसदीय दलको बैठकमा उनले पार्टी एकताबद् बनाएर लाने कि कसरी लैजाने भन्ने ओलीको हातमा रहेको बताएका हुन् ।
उनले बैठकमा पछिल्ला निर्णय खारेज गर्ने, केन्द्रीय कमिटी बैठक बोलाउने र २०७५ जेठ २ गतेको अवस्थामा फर्किए पार्टी एक हुने बताएका थिए । उनले जेठ २ नै प्रस्थानविन्दु रहेको बताएको एक सांसदले जानकारी दिए ।
यता, प्रधानमन्त्री ओलीले पछिल्ला निर्णय फिर्ता नलिने स्पष्ट पारे । बैठकमा गत फागुन २८ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णय र चैत ५ र ७ गतेको संसदीय दलको बैठकमा निर्णयहरुबाट ब्याक हुन नसक्ने बताएको प्रमुख सचेतक भट्टराईले जानकारी दिए ।
“विधान सम्वत ढंगले निर्णय गरेकाले त्यसबाट ब्याक हुन सकिँदैन भनेर प्रधानमन्त्रीले भन्नुभयो,” भट्टराईले भने ।




