कैलाली । थरुहट–थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटना मुद्दामा जेल जीवन बिताइरहेका सांसद रेशम चौधरीको संयोजकत्वमा ६ सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीको सदस्यमा लक्ष्मण थारु, रामप्रसाद चौधरी, चुनिराम चौधरी, विना चौधरी र यमुना चौधरी रहेकी छिन्।
उच्च अदालत दिपायलको फैसलापछि अर्धभूमिगत रहेका मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले शुक्रबार पत्रकार सम्मेलन गर्दै टीकापुर राजबन्दीको तर्फबाट वार्ता टोली गठन गरेको जानकारी दिए । वार्ता टोली गठनसहित मोर्चाले सो पत्रकार सम्मेलनमार्फत ४ बुँदे निर्णय समेत सार्वजनिक गरेको छ । मोर्चाका संयोजक थारुले चैत्र २० गतेभित्र टीकापुर घटनासम्बन्धी मुद्दाको अपिल सर्वोच्च अदालतमा दायर गर्ने बताए ।




