काठमाडौं । आफ्नो कुर्सी जोगाउन प्रधानमन्त्री केपी ओलीले टीकापुर हत्याकाण्डका मुख्य दोषी रेशम चौधरी छुटाउन अनेक प्रपञ्च गरिरहेको छ ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको नरसंहारमा एक नाबालकसहित आठजनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी थिए । वर्तमान प्रधानमन्त्री केपी ओलीले त्यसबेला न्यौपानेको घरमा गएर दोषीलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका थिए ।
तर, आज अदालतले टीकापुर हत्याकाण्डका दोषी जो अहिले जेलमा सजाय काटिरहेका छन्, तिनलाई छुटाउन प्रधानमन्त्री ओली नै कस्सिएर लागेका छन् । जसपाले चौधरीको रिहाइपछि सरकारमा सामेल हुने बटमलाइन सुनाएकाले पनि ओली सरकार उनलाई उन्मुक्ति दिन खोजिरहेको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलले बिहीबार माइतीघर मण्डला पुगेर थारु अगुवाको धर्नामा चौधरीलाई रिहाइ गर्ने संकेत गरेका थिए । त्यसको भोलिपल्टै एमाले नेताद महेश बस्नेत डिल्लीबजार कारागार पुगेर रेशम चौधरीलाई भेटेका छन् ।
प्रधानमन्त्री ओलीले जसपाको समर्थन जुटाउने प्रयास गरिरहेका बेला बस्नेतले चौधरीलाई भेटेका हुन् । बस्नेतले रिहाइका लागि सरकार सकारात्मक रहेको सन्देश चौधरीलाई दिएको स्रोतको दाबी छ । यसअघि जसपा नेता राजेन्द्र महतो कारागार पुगेर चौधरीलाई भेटेका थिए । उनले आफूहरूले रिहाइका लागि प्रयास गरिरहेको जनाएका थिए ।




