काठमाडौं । केही दिनदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच तारन्तार भेटवार्ता भइरहेको छ । प्रचण्ड र माधवबीचको गोप्य भेटघाटले प्रधानमन्त्री केपी ओलीको प्रेसर बढाएको छ । दुवैबीच किन तारन्तार भेटघाट भइरहेछ भन्ने भेउ ओली पक्षले पाउन सकेको छैन ।
नेकपा हुँदा प्रचण्ड र माधवबीच सम्बन्ध प्रगाढ बनेको थियो । दुवैबीच बिहीबार पनि भेटवार्ता भएको थियो । आज बिहान महादेवस्थानस्थित व्यवसायी टपेन्द्र तिमल्सिनाको घरमा प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालबीच करिब पौने घन्टा गोप्य भेटवार्ता भएको विषयले बालुवाटारमा तनाव बढेको छ ।
भेटवार्तामा के कुरा भयो भन्नेबारे खुलेको छैन। आज माओवादी केन्द्र नेकपा ब्यूउँताउन माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा रहेको बेला गोप्य भेट भएको हो। आजै माधव पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ । सो बैठकअघि माधव र प्रचण्डबीचको भेटवार्तालाई रहस्यमय मानिएको छ ।
प्रतिनिधि सभा पुनः स्थापना भएको एक महिनासम्म पनि केपी ओली नेतृत्वको सरकारलाई हटाउन प्रमुख प्रतिपक्षी दल कांग्रेसले खासै चासो नदेखाएपछि प्रचण्ड र नेपालले आफ्नो रणनीति परिवर्तन गर्दै पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको विश्लेषण गरिएको छ ।




