काठमाडौं । एमालेमा पछिल्लो समय नेताहरूबीचको समीकरणमा तीव्र फेरबदल भएको छ । सिन्धुपाल्चोकका शेरबहादुर तामाङ सुरुमा माधवकुमार नेपाल पक्ष थिए । उनकी श्रीमती उषाकला राई झलनाथ खनाल पक्षकी थिइन् ।
एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा बनेपछि भएको विवादमा तामाङ दम्पती माधव पक्षलाई छाडेर प्रधानमन्त्री केपी ओली गुटमा प्रवेश गरे । आफ्नो गुटमा आएकालाई संरक्षण गर्ने ओलीको पुरानै प्रवृत्ति हो । त्यही भएर उषाकला राई प्रदेश १ की सामाजिक विकासमन्त्री बन्ने भएकी छन् ।
आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नयाँ मन्त्रीहरुको आजै अपरान्ह १ बजे सपथग्रहण राखिएको छ । पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ अर्थमन्त्री हुने भएका छन् ।
हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री हुने भएका छन् । उदयपुरकी कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त हुने भएका छन् ।




