आजको पत्रपत्रिकामा ओली सरकार र नेकपा एमालेकै वरिपरिका घटनाक्रमबारेका समाचार छन् ।
नागरिक दैनिकले ओली झनै शक्तिशाली शिर्षकमा समाचार छापेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी र सरकार दुवैमा झनै शक्तिशाली हुँदै गएका छन्। ओली नेतृत्वको सरकार टिकाउन एमाले र जनता समाजवादी पार्टीबीच सहकार्यको सम्भावना बढेको छ भने अर्कोतर्फ पार्टीभित्र विधान संशोधन गरेर सबै अधिकार आफूमा केन्द्रित गर्न ओली सफल भएका छन्।
अन्नपूर्ण पोस्ट्ले स्पष्टीकरणमा उल्टै आरोप शिर्षकको समाचार पहिलो पेजमा छापेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई सोधिएको स्पष्टीकरण ‘अवैध भई अमान्य भएको’ जवाफ दिएका छन्। नेता नेपालले स्पष्टीकरणमार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै उल्टै आरोप लगाएका छन्। महाधिवेशन आयोजक समिति अवैधानिक किसिमले गठन गरिएको आरोप नेपालको छ।
त्यस्तै ओलीले सरकारमा आउन अफर गरेपछि अब जसपा कता ढल्किन्छ भन्नेबारे पनि अन्नपूर्ण पोस्ट्ले चासो देखाएको छ । अन्नपूर्ण लेख्छ, प्रतिनिधिसभा पुनःस्थापना र कम्युनिस्ट एकता भंगको नयाँ परिस्थितिमा सत्ताको चाबी जनता समाजवादी पार्टी (जसपा) को हातमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि ढाल्ने रणनीतिमा लागेको माओवादी केन्द्रको सहकार्य पहलमा उक्त दलले खासै रुचि देखाएको छैन। बरु सत्ता टिकाउने प्रधानमन्त्रीको कदममा साथ दिने संकेत उसले देखाएको छ।
सरकार र जसपा नेतृत्वबीच भएको अनौपचारिक वार्ता साबिककै अवस्थाबाट अघि बढे आगामी साता सत्ता साझेदारीको प्रक्रिया अघि बढ्ने सम्भावना छ।
ओली–नेपाल सम्बन्ध टुट्ने अवस्थामा शिर्षकमा आजको राजधानी दैनिकले समाचार छापेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार बुझाएको जवाफीपत्रले समस्या समाधान गर्नुभन्दा झनै बल्झाउने स्थिति देखिएको छ । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिनुको साटो वरिष्ठ नेता नेपाललगायतका नेताहरूले उल्टै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई गम्भीर आरोप लगाउँदै पत्र लेखेपछि पार्टी फुटको संघारमा पुगेको हो ।




