काठमाडौं । एमालेको माधवकुमार नेपाल पक्षले शुक्रबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीले आफ्ना पक्षका चार नेतालाई सोधेको स्पष्टीकरणका विषयमा निर्णय गर्न माधव पक्षले केन्द्रीय समिति बैठक बोलाएको हो ।
बैठकमा प्रधानमन्त्री केपी ओली समूहले गरेका निर्णयहरू, पछिल्ला गतिविधि र भावी रणनीतिबारे छलफल हुने नेताहरूले बताएका छन् ।
नेपाल समूहका नेताहरूले महासचिव ईश्वर पोखरेलले मागेको स्पष्टिकरण तयार पारिसकेको बताइएको छ । एमाले अध्यक्ष केपी ओलीको निर्देशनमा महासचिव पोखरेलले पार्टी र संसदीय दलको विधानविपरीत कार्य गरेको भन्दै एमाले वरिष्ठ नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टिकरण सोधेका थिए।
सोमबार बसेको उक्त समूहका उपलब्ध स्थायी कमिटी सदस्यको बैठकले अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ राजनीतिक रूपमा सामूहिक दिने निर्णय गरेको थियो। प्रतिस्पष्टीकरणमा माधव पक्षले ओलीले एमाले अध्यक्षका हैसियतमा गरेका सबै गलत निर्णयको पनि जवाफ माग्ने भएको छ ।




