काठमाडौं । एमाले र माओवादी केन्द्र अलग अलग हुनु र प्रतिनिधिसभाले प्रधानमन्त्री केपी ओलीको विकल्प दिन नसकेपछि जसपाका राजेन्द्र महतो सरकारमा जान हतारिएका छन् । महतोलाई तीन वर्षअघि एमाले र माओवादी केन्द्रले १६ हजार आफ्नो भोट दिएर जिताएका थिए । आगामी निर्वाचनमा पनि ओलीसँग सहकार्यको आश गरेर महतो सरकारमा जान हतारिएका हुन् ।
जनता समाजवादी पार्टीले राखेका माग पूरा गर्न सरकारले गृहकार्य अघि बढाएपछि केही दिनभित्रै जसपाका आठजना मन्त्री हुँदैछन् । यसै क्रममा प्रधानमन्त्री ओलीले मंगलबार साँझ जसपाका नेताहरुसँग कुराकानी गरेका थिए । भेटमा सहभागी जसपाका नेता महतोका अनुसार प्रधानमन्त्रीसँग माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
‘मधेस आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा कसरी फिर्ता लिन सकिन्छ भन्ने विषयमा प्रस्ट कुराकानी भयो,’ महतोले भने, ‘कुनै मुद्दा अदालती प्रक्रियाबाट फिर्ता लिनुपर्ने हुन्छ भने कुनै मुद्दा जिल्ला प्रशासन कार्यालयबाटै फिर्ता लिए पुग्छ ।’
प्रधानमन्त्री ओलीले जसपाका नेताहरुसँग सरकारमा आउन आग्रह गरेपछि महतोले एकपटक प्रधानमन्त्रीलाई विश्वास गरौं भनेर प्रस्ताव राखेका थिए । ‘प्रधानमन्त्रीले सरकारमा आउनुहोस्, तपाईंहरुले उठाएका माग पूरा गर्छु भन्नुभयो,’ महतोले भने, ‘तर हामीले माग पुरा गर्नुभयो भने मात्र सरकारमा सहभागी हुने विषयमा छलफल गर्छौंं भन्यौँ ।’
प्रधानमन्त्रीसँगको भेटमा रेशम चौधरीको रिहाइ कुन प्रक्रियाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी भएको स्रोतको दाबी छ । तर, चौधरीले ओलीलाई विश्वास गरेर सरकारमा नजान जसपा नेतालाई पत्र लेखेको हल्ला सुनेपछि राजेन्द्र महतो बुधबार डिल्लीबजार कारागार पुगेका थिए । उनले चौधरीसँग सरकारमा नजान पत्र लेखेको हो भनेर सोधेका थिए । यदि थारु समुदायको सेन्टिमेन्ट गुम्यो भने जसपालाई आगामी निर्वाचनमा ठूलो क्षति हुने निश्चित छ । उपेन्द्र यादव र बाबुराम भट्टराईलाई माइनस गरेर महतो उपप्रधानमन्त्रीसहित सरकारमा जाने चर्चा चलेको छ ।




