एजेन्सी । भारतले कोरोना बिरुद्धको खोप निर्यातमाथि अस्थायी रोक लगाएको छ । कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले बताएका छन् ।
भारतको खोप निर्माता सीरम इंस्टिच्युटले बेलायत र ब्राजिलका लागि खोप निर्यातमा ढिलाई गरिरहेकै बेला भारतको यो निर्णयले विश्वका कयौं राष्ट्रहरु प्रभावित हुने भएका छन् । भारतको यो कदमले अप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्ने ठानिएको छ। यसले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने सम्भावना छ।
भारतले अक्सफोर्ड–एस्ट्राजेनेका खोप हालसम्म ७६ राष्ट्रहरुमा ६ करोड खोप उपलब्ध गराइसकेको छ । भारतको यो कदमले नेपाल पनि प्रभावित बनेको छ । नेपालले अर्डर दिएर अग्रिम भोक्तानी दिइसकेको १० लाख डोज कोभिडशिल्ड अझै पठाएको छैन । यसले नेपालमा दाेस्राे चरणकाे खाेपलाइसमेत असर पार्ने देखिन्छ ।




