समाचार

माधव नेपालले आज ओलीसँग टक्कर लिन्छन् कि आत्मसमर्पण गर्लान् ?

काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाललाई स्पष्टीकरण दिन पाँच दिनको समय दिएका थिए । जसअनुसार आज स्पष्टीकरण बुझाउनुपर्ने अन्तिम दिन । तर, स्पष्टीकरण बुझाउने विषयमा माधव पक्षमा तीव्र मतभेद देखिएको छ ।
एमालेले पार्टीका वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीको हितविपरीत लागेको, अध्यक्ष केपी ओलीलाई साधारण सदस्यताबाट हटाएको, गुटको भेला गरेर हिँडेको भन्दै स्पष्टीकरण सोधेको थियो । नेता नेपाललाई १० बुँदे र अन्य नेतालाई पाँच बुँदे स्पष्टीकरण सोधिएको थियो ।
माधव पक्षका नेताहरूले नेकपा हुँदाका विषय समेटेर सोधिएको स्पष्टीकरणको जवाफ दिनु आवश्यक नरहेको बताउँदै आएका छन् । उनीहरूले २०७५ जेठ २ गतेको अवस्थाको एमालेको हैसियतमा भए प्रतिप्रश्नसहित पार्टी अध्यक्ष केपी ओलीलाई नै जवाफ लेख्ने तयारी छन् । माधव नेपाल जसले एमालेको १५ वर्ष नेतृत्व गरिसके, उनले अब स्पष्टीकरण दिँदा कसरी देलान् ? भन्ने जिज्ञासा सर्वत्र उठेको छ ।
नेता नेपालले आफू ओलीसँग आत्मसमर्पण नगर्ने बताइसकेका छन् । त्यसैले आज स्पष्टीकरण बुझाउँदा नेता नेपालले ओलीसँग टक्कर लिन्छन् कि आत्मालोचना गर्लान् ? चासोको विषय बनेको छ । एकथरी एमाले नेताहरु माधवविनाको एमाले नहुने बताउँदै दुवै पक्षले आत्मालोचना गर्नुपर्ने मत पनि उठेको छ । माधव पक्षभित्र भने केही नेताले पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने, अर्को पार्टी बनाउन नहुने आवाज बलियो बनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *