काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएपछि प्रधानमन्त्री केपी ओली अहिले संसद्लाई बिजनेस नदिएर पंगु बनाउने रणनीतिमा लागेका छन् । बिजनेस नभएकै कारण मंगलबार प्रतिनिधिसभाको अर्को बैठक एक सातापछि मात्र बोलाइएको छ ।
सरकारले सदनलाई काम नदिँदा बैठक एक हप्तासम्मका लागि स्थगन हुन पुगेको हो । सदन कामविहीन हुँदा पुनःस्थापना भएको पाँचौं बैठक बसिसक्दा पनि प्रतिनिधिसभाका बैठकहरु प्रभावकारी रूपमा चल्न सकेको छैन । न त कार्य ब्यवस्था परामर्श समितिले प्रभावकरी कार्यसम्पादन गर्नसकेको छ ।
मंगलबारको बैठकमा प्रधानमन्त्री ओली र उनी नेतृत्व सरकार संसदप्रति उत्तरदायी नबनेको र प्रतिनिधिसभालाई काम नलाग्ने पुष्टि गर्न लागेको भन्दै सांसदहरूले चर्को आलोचना गरे । तर पनि सांसदको कुरा सुन्ने र संसदलाई काम दिने मनस्थितिमा सरकार छैन ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री ओलीसँग भेटका लागि समय मागेको माग्यै छन् । तर, ओलीले समय दिएका छैनन् । सकेसम्म उनी सभामुखसँग भेट नहोस् भन्ने मनस्थितिमा रहेको बुझिएको छ । सरकारले ल्याएको विधेयक रोक्ने गतिविधिमा सभामुख सापकोटा लागेको आरोप प्रधानमन्त्री ओलीले लगाएका छन् । त्यही भएर ओली सभामुखसँग भेट गर्न चाहिरहेका छैनन् । सभामुख सापकोटा सरकारको झगडिया भएको आरोप प्रधामन्त्रीले लगाउँदै आएका छन् ।
आफूप्रति व्यावहारिक रूपमै संसद्को विश्वास रहेको पुष्टि नहुन्जेलसम्म विघटनको कदम सही थियो भन्ने देखाउन र प्रतिनिधिसभालाई कामविहीन बनाउने रणनीतिमा प्रधानमन्त्री रहेकाले केही समयसम्म मुलुक यस्तै गन्जागोल अवस्थाबाट गुज्रिरहने राजनीतिक विश्लेषकहरु बताउँछन् । जसपाबाट सरकारलाई समर्थन पाए प्रतिनिधिसभामा विश्वासको मत लिने र नपाए प्रतिनिधिसभाको पाँचौ अधिवेशन अन्त्य गर्ने तयारीमा ओली रहेका छन् ।




