काठमाडौं । २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएपछि केपी ओलीले चार महिनापछि तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरे । एमालेमा माओवादी केन्द्रसँग पार्टी एकता गर्नु हुन्न भन्ने लाइन बलियो थियो । तर, ओलीले अध्यक्षको एकल अधिकार प्रयोग गर्दै पुष्पकमल दाहाल प्रचण्डसँग घाँटी जोडे । प्रचण्डलाई दोस्रो अध्यक्ष बनाए ।
माओवादी केन्द्रसँग एकता गरेर नेकपा गठन गर्दा ओलीले एमाले विघटन र जबज परित्यागको कागजमा हस्ताक्षर गरे । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि अहिले तिनै ओली आफूलाई मदन भण्डारीको असली अनुयायी, जबजको संरक्षक जस्तै गरी एमालेका अन्य नेताहरूलाई धमाधम स्पष्टीकरण सोध्दैछन् ।
माओवादी केन्द्रसँग एकता गर्न हुन्न भन्ने माधव नेपाललाई ओलीले कारबाही गर्ने उद्देश्यले स्पष्टीकरण सोधेका छन् । नेता नेपाललाई सोधिएको स्पष्टिकरणमा यति धेरै आग्रह पूर्वाग्रह छन् कि माधव नेपाल एमालेमा फर्केर नआओेस् भन्ने ओलीको नियत देखिन्छ ।
माधव पक्षका एक नेताका अनुसार नेकपामा छँदा गरिएका कुनै कार्य भए पनि त्यतिबेला नेकपाको बहुमतले गरेको निर्णय हो । त्यो बेला बहुमतको अधिकांश निर्णय नमान्ने स्वयं प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली नै भएकाले ‘त्यतिबेलाको बहुमतको निर्णय किन नमानेको त ?’ भनेर ओलीलाई नै प्रश्न सोधिने भएको छ ।
नेता नेपाललाई प्रचण्डको मतियार भन्दै र्इश्वर पोख्रेलको हस्ताक्षरबाट स्पस्टिकरण सोधिएको सम्बन्धमा पनि ‘स्वयं केपी ओली नै मतियार रहेको’ प्रमाणसहित प्रतिस्पष्टिकरणको तयारी गरिएको बताइन्छ । प्रतिस्पष्टिकरण तयारीमा संलग्न एकजना नेता भन्छन्, ‘रातारात पार्टी एकताको नाटक मञ्चन गर्ने अरु कोही नभएर स्वयम् केपी ओली हुन् । सत्तारोहणका निम्ति प्रचण्डलाई मनाउन पार्टीको सिद्धान्त जबजलाई बिसर्जन गर्ने उनै हुन् । एमालेको मृत्युपत्रमा हस्ताक्षर गर्ने उनै हुन् । प्रचण्डसँग मतियार भएर अहिले पनि प्रधानमन्त्रीमा आसिन रहने उनै हुन् । त्यतिबेला गोप्य सम्झौता गरेर प्रधानमन्त्रीको कार्यकाल बाँडफाँड गर्ने को हो ?’ भनेर प्रतिप्रश्न गरिने भएको छ ।
एमालेलाई सिध्याएर प्रधानमन्त्रीको कुर्सीमा बिराजमान हुने षड्यन्त्र २०७५ जेठ ३ अघिको एमालेमा छँदा अध्यक्ष ओलीले नै गरेको नेताहरु बताउँछन् । त्यसैले अहिले एमालेले उल्टै केपीलाई किन पार्टीको सिद्धान्त जबजलाई सिध्याउने षड्यन्त्र गरियो ? भनेर स्पस्टिकरण सोध्नुपर्ने अवस्था आएको नेताहरू बताउँछन् ।




