राजनीति

परिस्थिति परिपक्व भएमात्र कांग्रेसले सरकारको नेतृत्व गर्छ : नेता लेखक

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कांग्रेसले सरकारको नेतृत्व गर्न अझै परिस्थिति परिपक्व नभएको बताएका छन ।    
    
कांग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता लेखकले स्थिति परिपक्व भएको अवस्थामा मात्र कांग्रेसले सरकारको नेतृत्व गर्ने बताए । आवश्यक परे वैकल्पिक सरकार बनाउनेबारे पार्टीले यसअघि नै स्पष्ट पारिसकेको उनले उल्लेख गरे । पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सरकार गठनबारे आज कुनै छलफल नभएको नेता लेखकको भनाइ थियो ।    
    
नौ जिल्लाले क्रियाशील सदस्यताको विवरण पठाएनन्    
    
नौ जिल्लाले कांग्रेस क्रियाशील सदस्यको विवरण पठाउन बाँकी रहेको छ । पार्टी कार्यालयमा सञ्चारकर्मीलाई जानकारी दिनुहुँदै कांग्रेस केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका संयोजक लेखकले बारा, सिराहा, सप्तरी, धनुषा, बाँके, बर्दिया, रुकुम पूर्व, डोल्पा र रसुवाबाट क्रियाशील सदस्यता वितरण तथा नवीकरणको विवरण प्राप्त हुन नसकेको जानकारी दिए ।     
    
हालसम्म झण्डै चार लाख क्रियाशील सदस्यता वितरण र नवीकरण भएको नेता लेखकले जानकारी दिए । यसबारे उनले आज पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरुलाई जानकारी गराएका छन । हालसम्म दुई लाख १२ हजार ५१९ जनाको क्रियाशील सदस्यता नवीकरण भएको र एक लाख ८० हजार २७५ नयाँ क्रियाशील सदस्यता वितरण गरिएको उनले बताए ।    
    
महाधिवेशन कार्यतालिकाअनुसार जिल्लाहरुले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको सबै विवरण चैत १० भित्र सबै केन्द्रमा पठाइसक्नुपर्ने थियो । समयमै विवरण नपठाउने जिल्लाले कांग्रेसको आगामी १४औँ महाधिवेशनमा भाग लिन नपाउने प्रावधान छ । अहिले पार्टीमा झण्डै पाँच लाख क्रियाशील सदस्य रहेको नेता लेखकले बताए। पार्टीको आगामी महाधिवेशनसम्म क्रियाशील सदस्यको सङ्ख्या १० लाख पुग्ने उनले जानकारी दिए ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *