काठमाडौं । सत्तारुढ एमालेले पार्टी हितविपरीतको गतिविधिमा लागेको भन्दै चार नेतालाई स्पष्टीकरण सोधेको छ ।
वरिष्ठ नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई एमाले महासचिव ईश्वर पोखरेलले स्पष्टीकरण सोधेका हुन्। एमाले केन्द्रीय कार्यालयले चारै नेताको घरघरमा स्पष्टीकरण लगेर छाडिएको जनाएको छ ।
स्वकीय सचिवहरूमार्फत् नेताहरूलाई स्पष्टीकरण पत्र थमाइएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । उनीहरूलाई पार्टी हितविपरीत किन गतिविधी गरेको भनेर तीन दिने स्पष्टीकरण सोधिएको छ ।
शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। बैठकमा ओली पक्षधर केन्द्रीय सदस्यहरू सहभागी थिए।
फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय सदस्य थपेको र विधान संशोधन गरेको भन्दै नेपाल समूह शनिबारको बैठकमा गएको थिएन। साथै प्रधानमन्त्री केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा समेत माधव पक्षीय सांसद अनुपस्थित रहेका थिए । एमालेमा हजारौं नेता ओलीविरुद्ध लागे पनि अहिलेलाई नेपाल, रावद, पाण्डे र भुसाललाई कारबाही गरेर अरुलाई तर्साउने नीति अख्तियार गरिएको छ ।




