रिबन

कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने नल्याउनेबारे ठोस छलफल हुने बताइएको छ ।

कांग्रेसको आजको बैठकमा ओलीलाई कसरी सत्ताच्यूत गर्ने र पार्टीभित्रका आन्तरिक विषय, महाधिवेशबारे र पछिल्लो समय विकसित राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरूले बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठक बस्ने भएकाले उक्त बैठकमा कसरी प्रस्तुत हुने भन्ने एजेन्डा तय गर्न अघिल्लो दिन नै कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो । वर्तमान सरकार ढाल्नेबारे समेत कांग्रेस नै निर्णायक हुने देखिएको छ । अविश्वास प्रस्ताव ल्याए पनि कांग्रेसलगायत अन्य असन्तुष्ट दलको ऐक्यबद्धताबिना असफल हुने भएकाले पनि अहिलेसम्म सरकार ढाल्न कुनै पनि दलले हिम्मत गर्न सकेका छैनन् ।

सर्वोच्च अदालतका दुईवटा फैसलाले प्रधानमन्त्री केपी ओली अझ निरंकुश र शक्तिशाली बन्दै गएको देखिएको छ । प्रतिनिधिसभा पुनःस्थापना भए पनि ठोस गतिविधि नगर्नु र नेकपा एकता खारेज भएर एमाले र माओवादी केन्द्र अलग अलग भए पनि बहुमतकै सरकार रहनुले ओलीको कुर्सी सुरक्षित देखिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सभापति शेरबहादुर देउवामाथि ओलीविरुद्ध बोल्ड डिसिजन गर्न दबाब परिरहेको छ । नेकपा विघटन भएर माओवादी र एमाले छुट्टिएपछि पनि ओलीलाई हटाउन असम्भव हुँदै गएको देखिएको छ । दलीय समीकरणको खेल सुरू भए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन । जसले गर्दा कांग्रेस, माओवादी तथा जनता समाजवादीको गठबन्धनबिना सरकार ढाल्न र नयाँ बनाउन समेत असम्भव भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *